३२ लाख एटीएम ह्याकरको निसानामा


प्रकाशित मिति : कार्तिक २३, २०७३ मंगलबार

करिब ३२ लाख एटीएम कार्ड अन्तर्रा्ष्ट्रिय ह्याकारको निसानामा परेका छन् । अन्तर्रा्ष्ट्रिय गिरोहले अधिकांश नेपाली प्रयोगकर्ताको पिन कोर्ड ह्याक गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्काल आफ्नो पिन कोर्ड परिवर्तन गर्न एटीएम प्रयोगकर्तालाई आग्रह गरेको छ ।

विगत तीन वर्षदेखि नेपालमा अन्तर्रा्ष्ट्रिय गिरोहले एटीएम ह्याक गरी पिन चोर्ने तथा डाटा ट्रान्सफर गरी पैसा निकाल्न थालेपछि सोमबार सीआईबीले यस्तो आग्रह गरेको हो । ‘तत्काल पिन कोड परिवर्तन गर्नुस वा अन्य सुरक्षा अपनाउनुस,’ सीआईबी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले भने ।

राष्ट्र बैंकका अनुसार नेपालमा करिब ४५ हजार क्रेडिट कार्ड, करिब ७५ हजार प्रिपेड कार्ड र करिब ४६ लाख एटीएम कार्ड प्रयोगकर्ता रहेका छन् । यसअघि विदेशमा पिन ह््याक गरी नेपालका बैंकबाट रकम निकाल्ने गरेका अन्तर्रा्ष्ट्रिय गिरोहले पछिल्लो समय नेपालबाटै नेपाली एटीएम प्रयोगकर्ताको पिन चोरी गरी रकम निकाल्ने गरेको पाइएको छ ।

एटीएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रूपमा रकम निकाल्ने तीन रोमानियाका नागरिकलाई पक्राउ गरी सीआईबीले सार्वजनिकसमेत गरेको छ । दरबारमार्ग, ठमेललगायतका स्थानबाट एटीएम ह्याक गरी रकम निकाल्दै गर्दा शुक्रबार गिन्ता हुजान, इओसिफ मोरारु, एलुक्स क्रिस्टेइनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । यसअघि कात्तिक दोस्रो साता एक बुल्गेरियन नागरिक पक्राउ परेका थिए भने आइतबार तीनजना रोमानियन नागरिक पक्राउ परेका छन् ।

प्रहरीले ठमेलको नरसिंह चोकबाट नेपाली नागरिकको रकम निकाल्दै आएका रोमानियन नागरिकलाई तीन दिनको अनुसन्धान पछि पक्राउ गरेको हो । प्रहरीले ५२ वर्षीय गिन्ता हुजाम, ४८ वर्षीय ओसिफ मोरारु र ४५ वर्षीय एलेक्से क्रिस्टियन बुगिउरानलाई पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले ३ लाख ८ हजार ५ सय रुपैयाँ, १० हजार ९ सय ५ युरो र ४ सय ७० फिलिपिनो मुद्रासहित पक्राउ गरेको राजधानीमा खबर छ ।

एक वर्षअघि सीआईबीले एटीएम कार्डको डाटासमेत ट्रान्सफर गर्न मिल्ने ‘मिनी म्याग्नेटिभ स्ट्रिप रिडर राइटर मेसिन’सहित विदेशी नागरिक मेहमत गुलेनलाई पक्राउ गरेको थियो । टर्की स्थायी घर भएका गुलेनले एपेक्स डेभलपमेन्टलगायत विभिन्न बैंकबाट शंकास्पद बैंकिङ ट्रान्जेक्सन गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com