अमेरिकालाई शरणार्थी शिविर बन्न नदिइने ट्रम्पको भनाई


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई शरणार्थी र आप्रवासी शिविर बन्न नदिइने बताएका छन् । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भने – ‘अमेरिका आप्रवासीको शिविर बन्ने छैन । न त अमेरिका शरणार्थी शिविर नै हुनेछ । अहँ कदापी हुनेछैन ।’

ट्रम्पले सोमबार भने – ‘युरोपमा के भइरहेको छ हेर्नुहोस् । अरु ठाउहरुमा के भइरहेको छ हेर्नुहोस् । हामीले त्यो अमेरिकामा हुनदिने छैनौं ।’ ट्रम्पले युरोपेली राष्ट्रहरुले लाखौं आप्रवासीहरुलाई अनुमति दिएर गल्ती गरेको बताएका थिए । अमेरिकाको अध्यागमन कानुन संसारमा नै सबैभन्दा खराब रहेको समेत राष्ट्रपति ट्रम्पले बताएका छन् ।

मध्य अप्रिलदेखि मेको अन्त्य सम्ममा अमेरिकाको सिमानामा झण्डै २ हजार बालबालिकाहरुलाई उनीहरुका बुबाआमाबाट अलग बनाइएको अवस्थामा ट्रम्पको भनाई आएको हो । ट्रम्प प्रशासनको शुन्य सहनशिलता नीति अन्तरगत गैरकानुनी रुपमा अमेरिकाको सिमा पार गरेर एसाइलम खोज्नेहरुलाई अपराधको अभियोग लगाउन थालिएको छ । जसका कारण अपराधको अभियोग नलगाइएका कैयन बालबालिकाहरुलाई बाबुआमाबाट अलग गराइएको छ ।

सयौं बालबालिकाहरुलाई हिराशतमा राखिएको छ भने कैयन स्थानहरु भरिइसकेका छन् । हिराशतमा रहेकाहरुलाई भेट्न आइतबार बुबाको मुख हेर्ने दिनमा कैयन राजनीतिज्ञहरु टेक्सास र न्युजर्सीका डिटेन्सन सेन्टरहरुमा पनि पुगेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com