१० बर्षे ग्रिनकार्डको प्रारम्भिक डाटा इन्ट्रीमा नै डेढ महिना ढिलाई


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

शर्तसहितको २ बर्षे ग्रिनकार्डको शर्तहरु हटाएर १० बर्षे ग्रिनकार्ड पाउनका लागि दिइएका आवेदनको प्रारम्भिक डाटा इन्ट्रीमा नै युएससीआईएस डेढ महिनासम्म ढिलाई गरेको छ । विगतमा त्यस्तो आवेदन प्राप्त हुनासाथ तत्काल प्राप्त भएको प्रारम्भिक डाटा इन्ट्री गरेर आवेदकले रिसिप्ट पठाउने गरिएकोमा अहिले प्रारम्भिक डाटा इन्ट्रीमा नै युएससीआईएसले डेढ महिना लगाउन थालेको छ ।

अस्थायी ग्रिनकार्डका शर्त हटाउने आई ७५१ को हकमा युएससीआईएसको क्यालिफोर्निया सर्भिस सेन्टरले प्रारम्भिक डाटा इन्ट्रीमा नै यति धेरै समय लगाएको हो । मे महिनामा प्राप्त आवेदनको नै प्रारम्भिक डाटा इन्ट्री नहुँदा आवेदकले अहिलेसम्म रिसिप्ट प्राप्त गर्न सकेका छैनन् । यसरी प्रारम्भिक डाटा इन्ट्री समेत नभएका आवेदनको डाटा इन्ट्री जुन महिनाभरमा सक्ने युएससीआईएसले जनाएको छ ।

क्यालिफोर्निया सर्भिस सेन्टरमा मे महिनामा आवेदन दिएर अहिलेसम्म रिसिप्ट प्राप्त नगरेकाहरुले अर्को आवेदन नदिन युएससीआईएसले सचेत गराएको छ । अस्वीकृत गरिएको सुचना वा अर्को आवेदन फाइल गर्नका लागि सुचना नपठाएसम्म अर्को आवेदन फाइल नगर्न युएससीआईएसले सचेत गराएको हो ।

यदि २ बर्षे ग्रिनकार्डको अवधि सकिएको खण्डमा युएससीआईएसको सम्पर्क केन्द्र ८०० ३७५ ५२८३ मा सम्पर्क गरेमा स्थानीय फिल्ड अफिसमा अप्वाइन्टमेन्ट पाइन समेत युएससीआईएसले जनाएको छ । यसरी अप्वाइन्टमेन्टमा जाँदा फर्म आई ७५१ पठाएको फेडेक्स, युएसपीएस वा अन्य कुरियरको प्रमाण ल्याउन युएससीआईएसले सुझाएको छ ।

हालैमात्र युएससीआईएसमा आवेदनको चाङका कारण ब्याकलग बढेपछि शर्तसहितको ग्रिनकार्डका शर्त हटाउन दिइने आवेदनको रिसिप्टलाई नै १८ महिने ग्रिनकार्डको मान्यता दिने बताइएको थियो । तर त्यही रिसिप्ट पाउन समेत २ महिना लाग्न थालेको छ ।

गत सोमबारदेखि लागु हुने गरी शर्तसहितका ग्रिनकार्डको शर्त हटाउन दिइएका आवेदनपछि प्राप्त आई ७९७ रिसिप्टलाई १८ महिनासम्मका लागि स्टेटस अद्यावधिक रहेको प्रमाणका रुपमा मानिने भएको छ ।

तर त्यस्तो रिसिप्ट आफ्नो एक्सपायर भएको ग्रिनकार्डसँगै राख्नुपर्नेछ । ग्रिनकार्ड एक्सपाएर भएको मितिले १८ महिनासम्म रिसिप्टले काम गर्ने भएपनि यदि १८ महिनासम्म पनि नयाँ ग्रिनकार्ड प्राप्त नभएमा के गर्ने भन्नेबारे भने युएससीआईएसले खुलाएको छैन ।

आई ७५१ र आई ८२९ को प्रोसेसिङ अवधि बढेपछि युएससीआईएसले नयाँ नियम ल्याएको हो । आई ७५१ अस्थायी ग्रिनकार्डको शर्त हटाउन आवेदकबाट फाइल गरिन्छ भने आई ८२९ अस्थायी ग्रिनकार्डको शर्त हटाउन व्यवसायीबाट फाइल गरिन्छ । जुन ११ सम्म पनि पेन्डिङ रहेका केसहरुको सन्दर्भमा युएससीआईएसले नयाँ रिसिप्ट जारी गर्नेछ जसमा अवधि सकिएको ग्रिनकार्डले पनि १८ महिनासम्म काम गर्ने उल्लेख हुनेछ ।

अमेरिकाको शर्तसहितको अस्थायी ग्रिनकार्ड लिएकाहरुले अमेरिकाबाहिर १ बर्ष वा त्यो भन्दा बढी यात्रा गर्नुपरेमा भने रिइन्ट्री परमिट लिनुपर्ने हुन्छ । ट्राभल डकुमेन्ट आवेदन आई १३१ फाइल गरेर त्यस्तो अनुमति लिन सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com