ढोका खुल्लै छ, जहाँ जाने मन छ गए हुन्छ – भट्टराई


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेपाली काँग्रेसलाई संसद् छाडेर जान मन भए गए हुने जवाफ दिएका छन् ।

कांग्रेस नेता एवं प्रतिनिधिसभाका सदस्य डा. मीनेन्द्र रिजालले बिहीबारको संसद बैठकमा कम्युनिष्टले धेरै पेले संसदबाट बाहिरिने चेतावनी दिएका थिए । नेता रिजालले कम्युनिष्ट सरकारले प्रतिपक्षलाई हेप्ने, पेल्ने र अपमानित गर्ने गरेको भन्दै संसद छाड्ने चेतावनी दिएका थिए ।

त्यसको भोलीपल्ट शुक्रबार नेकपाका नेता भट्टराईले प्रेस सेन्टर नेपालको अन्तिम केन्द्रीय कमिटी बैठकलाई पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै ढोका खुल्लै छ, जहाँ जान मन छ गए हुन्छ भनेर टिप्पणी गरेका हुन् ।

भट्टराईले भने, ‘एकपटक सत्ता बाहिर पुग्दा काँग्रेस छटपटाएको छ । संसद छाड्ने घुर्की दिइँदैछ । घुर्की देखाउनु पर्दैन, संसद छाड्न मन लागे छाडे हुन्छ, केही फरक पर्दैन, ढोका खुला छ ।’

भट्टराईले विगतमा कांग्रेसले कम्युनिष्टहरुले हेप्ने, पेल्ने र खिसिटिउरी गरेको आरोप समेत लगाए । उनले भने, ‘हामीले बिर्सिएका छैनौं, विगतमा काम्ँग्रेसले हामीलाई झोला बोक्ने पार्टी भन्ने र विभिन्न बहानामा हेप्ने गरेको हो । अब काँग्रेसले कम्युनिष्टलाई हेप्ने दिन गए ।’

नेकपा एकीकरणपछि तत्कालीन एमाले र माओवादीनिकट पत्रकारका संगठन प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त बैठक आज अपराह्न बस्दैछ । बैठकलाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले सम्बोधन गर्ने तय भएको छ ।

यसअघि प्रेस चौतारी नेपालको केन्द्रीय समितिको अन्तिम बैठक बिहीबार पार्टी कार्यालय पेरिशडाँडामा बसेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com