एनजीओहरूमाथि कडाइ, सञ्चालकले सम्पत्ति सार्वजनिक गर्नैपर्ने


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

सरकारले गैरसरकारी संस्था (एनजीओ), अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) तथा प्रतिफल वितरण नगर्ने कम्पनी सञ्चालनमा कडाइ गरेको छ ।

गृह मन्त्रालयको गत २४ जेठको निर्णयसँगै अब त्यस्ता संघसंस्था सञ्चालकले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ । सञ्चालक र कर्मचारीले सम्पत्ति विवरण बुझाउन नचाहे संस्था खारेजी हुने भएको छ ।

संघसंस्थाले एकभन्दा बढी क्षेत्र रोज्न नपाउने भएका छन् भने दर्ता भइसकेका संस्थाले समेत एक मात्र क्षेत्र रोज्नुपर्ने भएको छ । यस्तै, कम्तीमा चार–चार महिनामा प्रगति विवरण बुझाउनुपर्ने भएको राजधानी दैनिकमा खबर छ । त्यसो नगरेमा संस्था नै खारेज गर्ने सरकारले निर्णय गरेको हो ।

गृह मन्त्रालयले एनजीओ, आईएनजीओ तथा प्रतिफल वितरण नगर्ने कम्पनीको नाम, कार्यसमिति सदस्यहरूको नाम, थर, ठेगानासहितको विवरण जिल्ला प्रशासन कार्यालय, समाज कल्याण परिषद् र कम्पनी रजिस्ट्रारको कार्यालयबाट १ महिनाभित्र संकलन गरी गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उपलब्ध गराउने निर्णय गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com