लागुऔषध चरेससहित एकजना पक्राउ


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमबाट लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएर गएको प्रहरीको टोलीले ३९ वर्षीय नोकबहादुर रोकालाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

रोकाको घरको उत्तरतर्फ पालीको कुनामा सेतो प्लाष्टिकमा टेपले बेरेर राखेको अवस्थामा ९ सय २० ग्राम बराबरको कालो रङको चरेससहित रोकालाई पक्राउ गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढामगरले बताउनुभयो । रोकालाई प्रहरी हिरासतमा म्याद थप गरेर राखिएको छ भने थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

केही वर्ष अगाडि पनि रुमबाट बुटवलतर्फ लैजाने तयारीमा २३ केजी ५० ग्राम चरेससहित तीनजना महिलालाई प्रहरीले पक्राउ गरेको थियो । दूर्गम गाउँका महिलालाई प्रहरीले पक्राउ गरेपछि जिल्लाका ग्रामीण क्षेत्रबाट चरेसको बिक्रीवितरण हुने तथ्य सार्वजनिक भएको थियो ।

म्याग्दी जिल्लामा ठूलो परिमाणमा चरेस र त्यसको ओसारपोसारमा संलग्न महिला पक्राउ परेपछि प्रहरीले निगरानी बढाएको थियो । जिल्लामा लागूऔषध जिल्ला बाहिरबाट भित्रिने भए पनि ग्रामीण क्षेत्रमा गाँजा खेती गरी चरेस बनाउने गरेको प्रहरीको अनुमान छ । रुम आसपासबाट छिमेकी बागलुङतर्फ समेत लागुऔषध जाने गरेको प्रहरीको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com