अनुसन्धानका लागि ‘बडी क्यामेरा’ प्रयोग गर्दै प्रहरी


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ ।

अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

इप्रकाको कार्यप्रगति विवरणबारे जानकारी दिन बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रनानि कोइरालाले भन्नुभयो, “यो प्रविधिले अपराधीमात्र होइन प्रहरीको चालचलन र गतिविधिबारे जानकारी लिन पनि सहज हुन्छ, कतिपय घटनामा प्रहरी पनि दोषी भएको आरोप लाग्ने गरेको छ ।”

इप्रकाबाट क्यूआटी मोटरसाइकलमा परिचालन हुने र गस्तीमा जाने प्रहरीका लागि ‘बडी क्यामरा’ जडान गरिएको हो । मोटरसाइकलमा हिँड्नेको हेलमेट र गस्तीमा हिँड्नेको शरीरमा साना क्यामरा फिट गरिएको प्रहरीले जनाएको छ ।

प्रविधिको प्रयोगबाट अनुसन्धान छिटो सम्पन्न हुने र पीडितले चाँडै न्याय पाउने प्रहरीको अपेक्षा छ । इप्रकाले यसअघि नै नगरका विभिन्न क्षेत्रमा सिसी क्यामेरा जडान गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com