विश्वकप २०२६: अमेरिका, मेक्सिको र क्यानडामा


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

सन् २०२६ को विश्वकप संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्।

उनीहरूको ‘संयुक्त २०२६’ प्रस्तावले मोरक्कोको एकल आयोजनाको प्रस्तावलाई हराएको थियो।

फिफा सदस्य राष्ट्रहरूले संयुक्त आयोजनाको पक्षमा १३४ मत र मोरक्कोको पक्षमा ६५ मत दिएका थिए।

कुल २११ सदस्यमध्ये २०० राष्ट्रहरू बुधवार मस्कोमा ६८औँ फिफा कङ्ग्रेसमा आयोजित मतदानमा सहभागी भएका थिए।

आयोजक बन्ने प्रतिस्पर्धामा रहेकाले क्यानडा, मेक्सिको, मोरक्को र अमेरिकाले मतदान गर्न पाएनन् भने भ्रष्टाचारको आरोप लागेपछि देशको फुटबल सङ्घ विघटनमा परेकाले घाना अनुपस्थित भयो।

मतदान नगर्ने सदस्य राष्ट्रमध्ये अमेरिका अधीनस्थ गुवाम, यूएस भर्जिन आइल्यान्ड र पोर्तो रिको थिए।

'फुटबलको विजय'

निर्णय आएपछि यूएस सकरका अध्यक्ष कार्लोस कोर्डेरोले भने, “यो फुटबलको विजय हो। फुटबलमा हामी सबै एक छौँ।”

विश्वकप आयोजनाको अवसर पाएकोमा प्रसन्नता व्यक्त गर्दै आफूहरूलाई विश्वास गरेकोमा सबैलाई धन्यवाद दिए।

सन् २०२६ को विश्वकप प्रतियोगितामा ४८ देशहरू सहभागी हुनेछन्। असी खेलहरू हुने उक्त प्रतियोगिता ३४ दिन लामो हुनेछ।

मेक्सिको र अमेरिका दुवैले यसअघि पनि विश्वकप आयोजना गरेका छन्।

मेक्सिकोमा सन् १९७० र १९८६ मा गरेर दुईचोटि र अमेरिकामा सन् १९९४ मा विश्वकप भएको थियो।

क्यानडाले भने सन् २०१५ मा महिला विश्वकप आयोजना गरेको थियो।

धेरै खेल अमेरिकामा

कोर्डेरोका अनुसार ‘संयुक्त विश्वकप’ मा १४ अर्ब अमेरिकी डलरको आम्दानी हुनेछ। त्यसबाट फिफालाई मात्रै ११ अर्ब डलर फाइदा हुनेछ।

खेल आयोजना हुने १६ सहरमध्ये १० वटा अमेरिका र तीन-तीनवटा क्यानडा र मेक्सिकोमा छन्।

कुल ८० खेलमध्ये अमेरिकामा ६० र क्यानडा एवम् मेक्सिकोमा १०-१० खेलिनेछन्।

फाइनल खेल भने झन्डै ८५ हजार दर्शक अट्ने मेटलाइफ रङ्गशालामा आयोजित हुनेछ।

खेल हुने उत्तरको सहर एड्मन्डटन र दक्षिणको मेक्सिको सिटी झन्डै तीन हजार माइलको दूरीमा छन्।

तीन राष्ट्रले विश्वकप आयोजना गर्न लागेको यो पहिलो अवसर हुनेछ।

दुर्भाग्य

यसपालि समेत गरेर मोरक्कोले विश्वकप आयोजनाका लागि पाँचचोटि प्रतिस्पर्धा गर्‍यो। तर दुर्भाग्यवश कहिल्यै पनि उसका पक्षमा निर्णय भएन।

मोरक्कोले खेल खेलाउने भनेका रङ्गशालामध्ये १४ को निर्माण हुनै बाँकी रहेको र बाँकी पाँचको मर्मत र स्तरोन्नति आवश्यक देखिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com