छोरा र श्रीमतीलाई चक्कु हानेर आत्महत्याको प्रयास छोराको मृत्यु, श्रीमती र आफै गम्भीर घाइते


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

पोखरामा एक व्यक्तिले परिवारका सदस्यको हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेका छन् ।

पोखरा लेखनाथ महानगरपालिका १५ रामबजारस्थित कालिका मार्गका रामजी घलेले घरेलु हतियार प्रहार गर्दा छोराको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । त्यसपछि आत्महत्याको प्रयास गरेका रामजी पनि गम्भीर घाइते छन् ।

३८ वर्षीय घलेले ११ वर्षीय छोरा ज्ञापन घलेको हत्या गर्नुका साथै पत्नी ३२ वर्षीया सुमित्रा घलेको हत्या प्रयास गरेपछि आफैले पनि आत्महत्याको प्रयास गरेका प्रहरीको भनाइ छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा हत्यापछि रामजीले आत्महत्याको प्रयास गरेको निश्कर्ष निकालेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले बताए । उनले घटनामा बाहिरियाको संलग्नता नदेखिएको प्रष्ट पारे ।

हत्या प्रयासबाट श्रीमती सुमित्रा गम्भीर घाइते भएकी छन् । गर्भवती उनको असार ६ गते प्रसुति मिति तोकिएको थियो ।

प्रहरीका अनुसार गर्भवती सुमित्राले साँझ ६ बजे आफ्नो सुत्केरी हुने डेट असार ६ गते भएको श्रीमान रामजी घलेलाई सम्झाएकी थिइन् ।

उनले आफूलाई असहज महसुस भएको भन्दै अस्पताल जाने तयारी गर्न श्रीमानलाई आग्रह गरिन् । त्यत्तिकैमा उनीहरु सुते । राति १२ बजेतिर सुमित्राले पेट दुखेको भन्दै अस्पताल जान श्रीमानलाई आग्रह गरिन् । तर रामजीले भने विहान भएपछि मात्रै अस्पताल जाने भन्दै अटेर गरे ।

त्यत्तिकैमा उनीहरुबीच भनाभन भएपछि आक्रोशमा रामजीले तरकारी काट्ने चक्कु निकालेर श्रीमतीमाथि प्रहार गरे । उनले श्रीमतीको घाँटी रेटे । लगत्तै छोरा ज्ञापन घलेको कोठामा पसेर उनको पनि चक्कुले घाँटी रेटेको प्रहरीको भनाइ छ ।

रामजीले छोराको हत्या प्रयास गरेपछि सुमित्राले हार गु्हार गरेपछि छिमेकीहरु आएका थिए । छिमेकीले हेर्दा मृत छोराको शव नजिकै रामजीले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका स्थानीय वासिन्दाले बताएका छन् ।

उनको हाल मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । श्रीमती सुमित्राको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा उपचार भइरहेको छ । श्रीमती सुमित्राको घाँटीको रुद्र घण्टी नजिकै प्वाल परेको छ । उनको अपरेसन सफल भएमा बाँच्ने सम्भावना रहेको बताइएको छ । तर आत्महत्याको प्रयास गरेका रामजीको भने अवस्था चिन्ताजनक छ ।

घट्नालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा राति नै वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरिक्षक दीपक केसीको नेतृत्वको टोली पुगेको थियो ।

हत्यापछि आत्महत्याको प्रयास गरेका रामजी झगडालु स्वाभावको नभएको स्थानीयबासीले बताएका छन् । परिवारका अनुसार उनीहरुबीच यसअघि खासै मनमुटाव र झगडा भएको पनि थाहा नभएको उनीहरुको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com