चीन भ्रमण प्रधानमन्त्री ओलीका लागि अग्निपरीक्षा, के-के छ एजेण्डा ?


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओली आउँदो असार ५ गते छिमेकी मुलुक चीनको भ्रमणमा निस्किँदैछन् । दक्षिणी छिमेकीसँग भारतको भ्रमणपछि अब चीन जान लागेका हुन् ।

सम्बन्ध सुधार गर्ने उद्देश्यले प्रधानमन्त्री बनेपछि पहिलो प्रथामीता दिँदै भारतसँगको सम्बन्ध सामान्यीकरण गरेपछि अब चीन–नेपालको सम्बन्ध सुमधुर बनाउनुका साथै विकासमा हातेमालो गर्न आह्वान गर्नका लागि चीन भ्रमणमा निस्कन लागेका हुन् ।

कूटनीतिक सन्तुलन कायम गर्ने उद्देश्यले भारत भ्रमणबाट फर्केको आठौं दिनमा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भ्रमणको तयारी गर्न वैशाख ३ गते बेइजिङ पठाएका थिए ।

नेपालको विकासको साझेदार बन्दै आइरहेको ओलीको चीन भ्रमण अहिले सबैको चासोको विषय बनिरहेको छ । एमाले र माओवादी एकीकरणपछि बनेको एकीकृत कम्युनिस्ट पार्टीको अध्यक्ष तथा दुई तिहाइको शक्तिशाली सरकारको प्रधानमन्त्री भएकाले ओली विशेष अपेक्षाका साथ चीन जाँदैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा आएसँगै नागरिकको अपेक्षाहरु पनि धेरै नै रहेको छ । अझ अहिले बनेको स्थिर सरकारले देशको समृद्धि गर्न सक्ने सपना नागरिकले देखेका छन् ।

काठमाडौं–केरुङ रेलमार्ग निर्माण–

प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौंदेखि केरुङसम्मको रेलमार्ग निर्माणको समझदारी हुने सम्भावना छ । नेपाल र चीन जोड्ने उक्त रेलमार्गमा पछिल्लो समय पूर्व सम्भाव्यता अध्ययनअन्तर्गत स्थलगत काम पूरा भइसकेको छ ।

आर्थिक वर्ष ०७५/७६ मा रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणको डिपिआर तयार गरी निर्माण शुरु गर्ने योजना सरकारको छ । आगामी आवको बजेटमा समेटिएको उक्त घोषणाअनुसार अध्ययनको काम थालनी गर्नुपर्ने छ ।

केरुङदेखि काठमाडौं जोड्ने रेलमार्गलाई नै काठमाडौंदेखि पोखरा र पोखरादेखि लुम्बिनी जोड्ने सरकारको योजना छ । प्रारम्भिक अध्ययनसमेत नभएकाले चीनसँग प्रारम्भिक (पूर्वसम्भाव्यता र सम्भाव्यता) अध्ययन र त्यसपछि डिपिआर तयारीका लागि चीनसँग सहयोग माग्ने सरकारको तयारी छ ।

अरुण जलविद्युत् आयोजना–

ओलीको चीन भ्रमणमा उपहार स्वरुप ४५० मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत् आयोजना निर्माणका लागि प्रस्ताव गर्ने तयारी छ । यो आयोजनालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत निर्माणको प्रस्ताव गरिसकेको छ ।

व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल–

प्रधानमन्त्री ओलीको पहिलो चीन भ्रमणमा नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौता गर्ने समझदारी गरिएको छ । अहिले उक्त सम्झौताको प्रोटोकल तयार पारिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवि सैंजूले जानकारी दिएका छन् । ‘दुई देशबीच व्यापार पारवहन कस्तो हुने, के–कस्ता छुट सुविधा उपलब्ध गराउने, कुनकुन नाका प्रयोग गर्ने, कुन–कुन बन्दरगाहमा पहुँच दिने भन्नेलगायत विषय सम्झौतामा समेटिने छन्,’ उनले भने, ‘चीन भ्रमणअघि नै हाम्रो तर्फबाट प्रोटोकललाई अन्तिम रूप दिनेछौँ ।’ यसका अलावा नेपाल र चीनबीचको व्यापार वृद्धि, बढ्दो व्यापार घाटा न्यूनीकरण, तातोपानी नाका पुनः सञ्चालन, व्यापार पूर्वाधार विकासलगायत विषयलाई समेत सरकारले एजेण्डा बनाएको उनी बताउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com