प्रधान सेनापति रानीमहलमा, रानीमहलको पर्यटकीय महत्वः प्रधान सेनापती क्षेत्री


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

प्रधान सेनापति राजेन्द्र क्षेत्रीले पश्चिम जनरल कमाण्डर खड्ग शमसेरले बनाएको रानीमहल अवलोकन गरेका छन् । मंगलबार दिउँसो हेलिकप्टरबाट आएका सेनापती क्षेत्रीले रानीमहल संरक्षण गर्दै आएका स्थानीयहरुसँग अन्तरक्रिया समेत गरे ।

‘प्रेमको प्रतिकका रुपमा रहेको रानीमहल प्रत्यक्ष अवलोकनको अवसर मिलेको छ । यसको पुरात्वात्विक महत्वलाई जगेर्ना गर्नु आवश्यक हुन्छ,’ प्रधान सेनापति क्षेत्रीले भने, ‘ऐतिहासिक धरोहर पुरातात्विक तथा पर्यटकीय महत्व बोकेको छ । यसलाई व्यवस्थित तरिकाले समिति बनाएर संरक्षण गर्नुपर्छ ।’ अन्तरक्रियाका क्रममा स्थानीय बासिन्दाहरुले रानीमहललाई उचित रुपमा व्यवस्थापन गर्न सरकार गम्भिर नभएको बताएका थिए ।

विशेष सैनिक अभ्यासका क्रममा रानीमहल आईपुगेका प्रधान सेनापति क्षेत्रीले तालिममा सहभागी समूहलाई सम्बोधन गर्दै समूह सबैको लगावले उत्कृष्ट नतिजा हासिल हुने बताए । उनी भन्छन्, ‘पेशागत प्रतियोगितामा प्रथम हुने बटालियनबाट अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतियोगितामा भाग लिन पठाईनेछ ।

हामी अन्तर्राष्ट्रिय स्तरमा समेत नाम राखेका छौं । भर्खर बेलायतमा सम्पन्न प्रतियोगितामा गोल्ड मेडल प्राप्त गरेका छौं । म सबैलाई बधाई दिन्छु ।’ अखण्ड सुनौलो इतिहासलाई जिवित राख्न नेपाली सेना सदैव तत्पर रहेको छ । प्रधान सेनापती क्षेत्रीले अत्यन्तै कठीन कार्य, विकट भौगोलिक बनावट, विपरित मौसमी अवस्थामा ३ दिन लगाएर सेना रानीमहलमा आएर आफ्नो उत्कृष्ठता प्रस्तुत गरेको बताए । नेपाली सेनाको नाम उच्च राख्नु आवश्यक छ, क्षेत्रीले भने । नेपाली सेनाको विशेष आन्तरिक पेशागत प्रतियोगिताका लागि नेपाल भरका विभिन्न सैनिक युनिटहरुबाट झण्डै तीन सय सैनिकहरु रानीमहल आईपुगेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तानसेन नगरपालिका–१३, बौहागुम्हामा रहेको रानीमहल १९५० सालमा पाल्पा गौडाका तैनाथवाला पश्चिम तर्फका प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानि तेजकुमारीको सदिक्षा र सम्झनामा निर्माण गरेका थिए । जिल्ला सदरमुकाम तानसेनदेखी १३ किलोमिटरको दूरीमा रानीमहल पुग्न सकिन्छ । सच्चा प्रेमको प्रतिक ठानिने रानिमहल त्यहि कारणले गर्दा दरबार अवलोकन गर्न जानेहरु मध्ये अधिकांश युगल जोडीहरु रहने गरेकाछन् ।

प्रणय दिवस (भ्यालेन्टाईन डे) फ्रेबुअरी १४ का दिन यस क्षेत्रमा मेलानै लाग्ने गर्दछ । १९५० सालमा शिलान्यास गरि १९५४ सालमा निर्माण सम्पन्न भएको थियो । कला कौशलको बेजोड नमूनाले सिंगारेर ४ वर्षको अवधिमा महत्वपूर्ण फर्निचर, महँगा महँगा सजावटका सामाग्रीले भरिपूर्ण कोठामा एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानिलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ । चट्टान नै चट्टानले निर्मित पहाडको काखमा उत्तरवाहिनी कालीगण्डकी नदीको किनारमा निर्मीत दरवारले झण्डै १ सय २५ बर्षको ईतिहास बोकेर प्रगाढ प्रेमको इतिहासका रुपमा रहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com