मलेसिया जाने कामदार ठगी : भिएलएनका अध्यक्षविरुद्ध मुद्दा दायर, ३ अर्ब बिगो दाबी


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

मलेसिया जानेका कामदारलार्इ ठगी गर्दै अाएकाे अवैध कम्पनी ‘भिएलएन’का अध्यक्ष रामकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर भएकाे छ। काठमाडौँ जिल्ला अदालतमा उनीविरूद्ध करिब ३ अर्ब बिगो दाबीसहित ठगी मुद्दा दर्ता भएको हाे।

वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका भिएलएनले अवैध रूपमा पैसा असुल्दै अाएकाे थियाे । उसले कामदारबाट हालसम्म करिब तीन अर्ब बराबर रकम ठगी गरेको अभियोग लगाइएकाे छ ।

श्रेष्ठविरुद्ध दुई अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगो दाबीसहित साेमबार सरकारी वकिलकाे कार्यालयले मुद्दा दर्ता गरेको हो। अाज (मंगलबार)बाट श्रेष्ठको थुन्छेक बयान सुरू भएकाे जनाइएकाे छ । बयानलगत्तै वादी र प्रतिवादीका वकिलहरूकाे बहस सुरु हुनेछ।

प्रहरी नियन्त्रणमा रहेका अध्यक्ष श्रेष्ठ भने उपचारकाे बहानामा हिरासतमा बस्न नमानी नर्भिक अस्पतालमा बस्दै अाएका छन्।

प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो। सो क्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेको भन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा अध्यक्ष श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com