अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिँड्नु पर्दैन : प्रधानमन्त्री ओली


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा, ओलीले उद्योगी व्यवसायीको समस्या समाधान गर्न नीतिगत र प्रशासनिक अप्ठ्यारा हटाउन सरकार अग्रसर रहने बताउनुभएको छ ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा आज संयुक्तरुपमा विराटनगरमा आयोजित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “व्यापारीहरुलाई आत्मनिर्भर बनाउनका लागि प्रशासनिक झन्झट, नीतिगत सुधार, बैंक ब्याज, विद्युतीय समस्या समाधान गर्न सरकार क्रियाशील रहनेछ ।”

भारतसँग व्यापार घाटा कम गर्नका लागि निर्यातजन्य वस्तुको उत्पादन र प्रवद्र्धन गर्न सरकार व्यवसायीहरुको साथ रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ‘एन्टी डम्पिङ कर’को विषयमा भारत भ्रमणका क्रममा भारतीय पक्षसमक्ष कुरा राखेको जानकारी गराउनुभयो ।

उहाँले मुलुक आत्मनिर्भर अर्थतन्त्रको यात्रामा अगाडि बढेको प्रसङ्ग उल्लेख गर्दै देशमा विकासका लागि औद्योगिकीकरण र आधुनिकीकरणका लागि अनुकूल समय रहेको स्पष्ट पार्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस अनुकूल समयलाई सदुपयोग गर्नुपर्ने विषयमा जोड दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रमुख तीन विषयमा उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सबैको सहयोग आवश्यक छ ।”

उहाँले भन्नुभयो, “अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिँड्नु नपर्ने, जायज कामका लागि कमिसन दिनुपर्दैन र नाजायज कामका लागि कमिसनको माध्यमले हुँदैन ।”

सो अवसरमा प्रदेश नं १का मुख्यमन्त्री शेरधन राईको पनि उपस्थिति थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com