प्रतिनिधि सभा बैठक चलिरहँदा सांसदलाई विश्वकपको भूत चढेपछि…(भिडियोसहित)
प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार
विश्वकप सुरु हुन अब केही दिन मात्रै बाँकी छ। तर नेपालमा भने विश्वकपले राम्रै चर्चा पाउन थालिसकेको छ। विश्वकप हेर्न भनेरै फ्यानहरु तमतयार भएर बसेका छन्।
मार्केटमा पसले साहुजीहरुलाई पनि विश्वकपमा सहभागि राष्ट्रहरुको जर्सी बेच्न भ्याइनभ्याई नै भइरहेको छ। यसपटक विश्वकपमा ३२ राष्ट्र सहभागि हुनेछ।
फ्यानहरुबीच विश्वकप कसले जित्ला भनेर होडबाजी नै चलिरहँदा आइतबार संघीय संसद्को प्रतिनिधिसभा बैठकमा पनि विश्वकपले चर्चा पायो। विनियोजन विधेयकका शीर्षकमा छलफल भएको उक्त बैठकमा बोल्दै सांसद विरोध खतिवडाले नेपाल विश्वकपमा कसरी सहभागि हुने भन्दै रोचक सुझाव समेत दिए।
सभामुख कृष्णबहादुर महराले दिएको तीन मिनेट सकिनै लाग्दा उनले भने– रुसमा विश्वकप आयोजना हुँदैछ, भलै नेपाल सहभागि हुन पाएन, यो विश्वकपमा नेपाल कसरी सहभागि हुने?
उनले सरकारलाई सुझाव दिदैं भने– हाम्रो यो संसद् भवनमा पानी ट्याङ्की छ, जुन फुटबल जस्तो गोलो परेको, यसो हेर्दा उठाको वल्र्डकप जस्तो पनि छ। उनले आफ्नो भनाईलाई अघि बढाउदैं भने– ‘त्यसलाई फुटबलको आकार दिएर डिजिटल मार्फत विश्वकप २०१८ लाई नेपाल स्वागत गर्दछ भनेर लेख्यो भने अत्यन्तै आकर्षक र नेपालको सहभागिता पनि हुन्छ।’





