नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै अध्यक्षलाई समान अधिकार
प्रकाशित मिति : जेष्ठ २४, २०७५ बिहीबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विधानलाई अन्तिम रुप दिएको छ । बुधबार केही संशोधनसहित नेकपाले विधानलाई अन्तिम रुप दिएको हो ।
नेकपाले यसअघि पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाएको विधानलाई अन्तिम रुप दिन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई जिम्मा दिएको थियो ।
विधानमा दुवै अध्यक्षलाई समान अधिकार दिइएको छ ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ का अनुसार विधान, राजनीतिक प्रतिवेदन सबै टुंगो लागिसकेको र एक दुई दिनमा छापिएरै आउने छ । विधानले दुवै अध्यक्षलाई समान हैसियत र अधिकार प्रदान गरेको उनले बताए ।
आपसी समझदारीमा बैठक बोलाउने, दुवै अध्यक्षले हस्ताक्षर गरी आन्तरिक पार्टी कमिटीमा सर्कुलर गर्नेलगायतका अधिकार पनि विधानले प्रत्यायोजन गरेको छ ।
राजनीतिक दस्तावेजमा प्रचण्डको नेतृत्वमा भएको १० वर्षे जनयुद्धले उत्पीडित जाति, वर्ग, लिंग र समुदायलाई जागरुक बनाएको र त्यसले गणतन्त्र स्थापनामा भूमिका खेलेको शब्दावली समेत प्रयोग गरिएको छ । यसअघि निर्वाचन आयोगमा बुझाइएको राजनीतिक दस्तावेजमा प्रचण्डको नाम उल्लेख थिएन ।
त्यसैगरी, राजनीतिक दस्तावेजमा पार्टीको राजनीतिक कार्यदिशा समाजवाद उन्मुख जनताको जनवाद हुने उल्लेख छ ।





