व्यवस्थापनको नँया तरिका: छाडा गाई गोरु गरिब तथा विपन्न परिवारलाई वितरण


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

धनगढी लगायतका क्षेत्रमा छाडा पशु चौपायाको समस्या बढ्दै जाँदा यस्ता पशु चौपायालाई बझाङ्ग जिल्ला पु-याई गरिब तथा विपन्न परिवारलाई वितरण गरेर व्यवस्थापन गरिने भएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख, बझाङ्गको खप्तड छान्ना गाउँपालिका र सुर्मा गाउँपालिकाका प्रमुखबीच बुधबार यस सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, बझाङको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्खबहादुर रोकाया र सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराबीच हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा छाडा चौपाया गाई गोरुलाई धनगढीबाट बझाङसम्म पु-याउने कामको जिम्मा धनगढी उपमहानगरपालिकाले गर्ने र पु-याइने गाई गोरुको बझाङका यी दुई गाउँपालिकाले समुदायमा वितरण गरेको सम्बन्धी भर्पाई धनगढी उपमहानगरलाई दिनुपर्ने उल्लेख छ ।

पहिलो चरणमा खप्तड छान्ना गाउँपालिकाले तीन सय गाई गोरु र सुर्मा गाउँपालिकाले छ सय गाई गोरु लैजाने सहमति भएको सुर्मा गापाका अध्यक्ष नरबहादुर बोहराले बताउनुभयो ।
बोहराले भन्नुभयो,“धनगढीबाट लगेका गाई गोरु गरिब तथा विपन्न परिवारमा बाँड्छौं, गरिब तथा विपन्नले गाई किन्न नसक्दा दूध खान पाएका छैनन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बझाङमा गाई गोरु लैजाने योजनाबाट जिल्लाको पोषणको अवस्थामा सुधार आइ स्थानीयवासी गरिब जनताको आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिएको छ । यी गाई गोरुलाई निःशुल्क रुपमा वितरण गरिने जनाइएको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतमणि पाण्डेले भन्नुभयो,“गाउँपालिकाका अध्यक्षद्वयले पवित्र मनले हामी सामुदायिक पशु चौपाया लैजान्छौ भन्नुभएको छ ।”

विगत दुई वर्षयता कैलाली जिल्ला र खासगरी धनगढी उप–महानगरपलिका क्षेत्रमा पशु चौपाया छोड्ने प्रवृत्ति बढ्दै जाँदा यसले बजारमा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न गराएको मात्र नभइ किसानको अन्नबाली खाएर नोक्सान पु-याइरहेको छ ।

यी चौपायाको व्यवस्थापनका लागि भन्दै उपमहानगरले केही ठाउँमा गौशाला निर्माण समेत गरेको छ । छाडा गाई गोरुको व्यवस्थापनको लागि गौशाला निर्माण गर्ने भन्दै यहाँ हालै महायज्ञ समेत गरिएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com