संविधान संशोधनपछि निर्वाचन : प्रधानमन्त्री


प्रकाशित मिति : कार्तिक १५, २०७३ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्।

न्हुदँ समारोह समितिद्वारा सोमबार  नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक र्‍यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको बताए।

मधेस, थारु, आदिवासी जनजातिले उठाउँदै आएको जायज मागलाई संविधान संशोधनमार्फत पूरा गरेर निर्वाचनमा सरकारको ध्यान रहेको भन्दै प्रधानमन्त्री दाहालले  संविधान संशोधनका लागि राजनीतिक दलहरु सहमति नजिक पुगेको उल्लेख गरे।

के मधेस, के पहाड, के तराई सबै एकढिक्का भएर देशलाई आर्थिक विकासतर्फ लैजानु आजको आवश्यकता हो, उनले भने।   नेपाल संवत्  नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय संवत् भएको दाहालले बताए।

यस्तै उनले नेपाल संवत्लाई इस्वी संवत्सँग तालमेल हुनेगरी स्थापित गराउन जरुरी रहेको  बताए।

कार्यक्रममा समितिका अध्यक्ष मोतीलाल सिल्पकारले नेवार समुदायले मान्दै आएको नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउन आग्रह गरे ।
रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com