अर्थमन्त्रीले नेतृत्वलाई भनेका थिए- २ वर्ष गाली, त्यसपछि ताली खाने बजेट ल्याउँछु


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

अर्थमन्त्री डा.युवराज खतिवडाको बजेट भाषण सुनिसकेपछि सत्तारुढ कम्युनिस्ट पार्टीका सांसदहरु क्यान्टिनमा बसेर निराशा व्यक्त गरिरहेका बेला दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड भने ऐतिहासिक बजेट भन्दै थिए ।

बजेटमा लोकप्रिय कुरा नपरेपछि सांसदमात्र होइन कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले पनि फेसबुकबाट निराशा व्यक्त गरे ।

यो भन्दा राम्रो बजेट त यसअघिका अर्थतन्त्र नबुझेका नेता अर्थमन्त्री हुँदा आएको भन्दै कार्यकर्ता तथा सांसदहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् । तर नेकपाका शीर्ष नेताहरुलाई भने बजेट यस्तै आउँदैछ र कम्तीमा दुई वर्ष यस्तै बजेट ल्याउनुपर्छ भन्ने जानकारी थियो ।

भोट तान्ने कि अर्थतन्त्र लिकमा ल्याउने ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्रोतका अनुसार देशको अर्थतन्त्र ट्र्याकमा ल्याउन बजेट वक्तव्यमा दुई वर्ष आलोचना खेप्न तयार हुनुपर्ने पूर्व जानकारी अर्थमन्त्रीले प्रधानमन्त्री, पार्टी अध्यक्ष लगायतका नेताहरुलाई गराइसकेका थिए । नेतृत्वलाई जानकारी दिएरै यो बजेटमा भोट तान्नकै लागि राखिने गरेका पपुलिष्ट कार्यक्रम नल्याइएको हो ।

‘दुई वर्षसम्म बजेटमा कार्यकर्ता तहबाट आलोचना हुनसक्छ, त्यसको लागि पार्टी पंक्तिलाई प्रशिक्षित गर्नुपर्ने पनि हुन्छ भन्ने कुरा आएको हो ।

शुरुका दुई वर्ष अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउने र बाँकी तीन वर्ष आक्रामक कार्यक्रम र देखिने विकासमार्फत अर्को चुनाव जित्ने लक्ष्य हो’ नेकपाका एक सचिवालय सदस्यले अनलाइनखबरसँग भने ।

दुई तिहाई बहुमत प्राप्त कम्युनिस्ट पार्टीको सरकारलाई अस्थिरताको डर छैन । ५ वर्ष ढुक्कले सरकार चलाउन पाइने भएकाले बजेट पनि सोही योजना अनुसार ल्याइएको दावी ती नेताले गरे । उनले शीर्षस्थ नेतृत्वलाई ‘कन्भिस’ गरेरै अर्थमन्त्रीले बजेट बनाएको हुनाले यो बजेटको प्रतिरक्षा पनि पार्टीले नै गर्ने प्रष्ट पारे ।

प्रधानमन्त्रीले भने-धैर्य राख्नुपर्ने भयो

नेकपा (तत्कालीन वाम गठबन्धन) ले घोषणापत्रमा वृद्धभत्तालगायत सामाजिक सुरक्षा भत्ता ५ हजारसम्म पुर्‍याइने, विकासका ठूला-ठूला आयोजना सञ्चालन गरिने जस्ता धेरै कार्यक्रम राखेको थियो । बजेटमा सामाजिक सुरक्षाभत्ता नबढेपछि विपक्षी कांग्रेसले यसलाई मसला बनाएको छ भने, सत्तापक्षका कार्यकर्ता रक्षात्मक बनेका छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने सामाजिक सुरक्षाभत्ता एकैपटक ५ हजार पुर्‍याउने नभनिएको र आफ्नो कार्यकालमा सो प्रतिबद्धता पूरा हुने बताएका छन् । उनले चुनावपछि जाँदा-जाँदै शेरबहादुर देउवा सरकारले अर्थतन्त्र तहसनहस बनाएकाले बृद्धभत्ता जस्ता सामाजिक सुरक्षा भत्ता बढाउन नसकिएको बताए ।

ओलीले अनलाइनखबरसँग भने ‘यसबीचमा परिस्थिति राजनीतिक र आर्थिक हिसाबले बिगार्ने काम भयो । यसले गर्दा अलिकति हामीले धैर्यता राख्नुपर्ने भयो । तर, ७० वर्ष पुगेका जेष्ठ नागरिकको एक लाखसम्मको विमा सरकारले गरिदिने कुरा मासिक भत्ताभन्दा ठूलो सुविधा हो ।’

तत्काल गाली, अर्को चुनावमा ताली ?

सांसद र नेता कार्यकर्ताले अर्थमन्त्रीको आलोचना गरिरहेका बेला नेकपाका शीर्ष नेताले ५ वर्ष सरकार चलाउने पार्टीले समग्र अर्थतन्त्र लिकमा ल्याउने अर्थमन्त्रीको प्रयासलाई साथ दिनुपर्ने भन्दै सम्झाउन थालेका छन् । यसअघिनै अर्थमन्त्री खतिवडाले दुईवटा बजेटले अर्थतन्त्र ट्र्याकमा ल्याउने काम गरे पनि कार्यकर्ताबाट तालीभन्दा गाली खान तयार हुनुपर्ने नेताहरुलाई बताइसकेका थिए ।

खतिवडाको भनाइ उधृत गर्दै नेकपाका एक नेताले भने ‘देशको अर्थतन्त्र ट्र्याक आउट भइसकेको छ । लोकप्रिय हुने नाममा भोट केन्दि्रत बजेट ल्याइए विगतमा । मान्छे भड्किन्छन् भन्ने डरले बनेका बजेट र ५ वर्ष देश चलाउने सरकारले ल्याएको बजेट एउटै हुँदैन । शुरुमा आलोचना ब्यहोर्नुपर्ने हुन्छ तर २ वर्षपछि सबैले हाइ-हाइ गर्नेछन् । ५ वर्षपछि जनतामा जाँदा हामीसँग सबै कुराको जवाफ हुनेछ ।’

विज्ञ भन्छन्-अर्को चुनाव पनि जित्ने लक्षण

हरेक बजेट भाषणमा लोकप्रिय घोषणा सुन्ने बानी परेका आम मान्छेलाई कम्युनिस्ट सरकरको बजेटले निराश बनाएकै हो । यो सरकारको नीति तथा कार्यक्रम, कम्युनिस्ट पार्टीको घोषणापत्र र प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपालीको सपना सुनेर अभ्यस्त भइसकेकाहरुले विगतका बजेटको क्रमभंग हुने अपेक्षा राखेका थिए । ठूला-ठूला नयाँ परियोजनाको घोषणा हुने अपेक्षा थियो ।

तर, प्रत्यक्ष राजनीतिमा कहिल्यै नरहेका अर्थमन्त्रीले तत्काल गाली खाने तर ५ वर्षपछि जनतामा जाँदा ताली खाने गरी बजेट बनाउन खोजेको देखियो । एउटै पार्टीको सरकारले ५ वर्ष बजेट ल्याएर कार्यन्वयन गर्ने भएकाले आउने दुई वर्षलाई अर्थतन्त्र सुधार गर्ने, नियमित ठूला पुर्वाधार तथा परियोजना सम्पन्न गर्ने र बाँकी ३ वर्ष लोकप्रिय काम गर्ने लक्ष्य राखिएको अनुमान लगाउन सकिन्छ ।

यो अनुमानलाई अर्थविदहरुले पनि पुष्टि गरेका छन् । पूर्वअर्थसचिव रामेश्वर खनाल, योजना आयोगका पूर्वउपाध्यक्ष तथा कांग्रेसका युवा नेता स्वर्णिम वाग्ले जस्ता विज्ञले पनि बजेटले वित्त सन्तुलन कायम गर्ने र ठूला आयोजना तथा उद्यमशीलतालाई जोड दिएको टिप्पणी गरेका छन् ।

खनालले भने ‘यो बजेट रणनीकि रुपले महत्वपूर्ण छ । यो सरकार ५ वर्षका लागि बनेको हो । पहिलो २ वर्षमा वित्तीय सन्तुलन कायम गरेर आर्थिक वृद्धिद्धर हासिल गर्ने र त्यसपछि चुनाव आउने बेलामा लोकप्रिय कार्यक्रम ल्याउने उद्देश्य देखियो । यो बजेटले अर्को पनि चुनाव जित्ने वातावरण बनायो ।’

अर्थमन्त्री खतिवडाले जे भनेर कम्युनिस्ट पार्टीका शीर्षस्थ नेतालाई कन्भिन्स गरेका थिए, रामेश्वर खनालको टिप्पणी यसमा मेल खाएको छ । कम्युनिस्ट पार्टी र उसको सरकारले लोकप्रियताका नाममा हतार गर्न नचाहेको देखिन्छ । अहिलेनै लोकप्रिय कार्यक्रम र बजेट ल्याएर अर्थतन्त्र थप संकटमा पार्दा कम्युनिस्ट पार्टीनै संकटमा पर्ने अर्थमन्त्रीको चेतावनीमा नेतृत्व आश्वस्त बनेको बुझिएको छ ।

देउवा सरकारको पालामा योजना आयोगको उपाध्यक्ष रहेका स्वर्णिम वाग्लेले पनि बजेट ५ वर्ष सरकार चलाउने अवस्थाको आँकलन गरेर ल्याइएको टिप्पणी गरेका छन् । उनले विनियोजनको दृष्टिले शिक्षा र पूर्वाधार विकास प्राथमिकतामा परेको भन्दै यो चुनाव केन्द्रित बजेट होइन भनेका छन् ।

वाग्लेले फेसबुकमा लेखेका छन् ‘आफ्नो कार्यकाल ५ वर्ष हुने कुरामा विश्वस्त भई आगामी सालका लागि बजेटको पूर्वानुमान गर्दै पहिलो किस्ताका रुपमा यो बजेट आएको छ । आजको मुल्यांकनको दाजोमा ३ वर्षपछि बजेटको समीक्षा अर्कै हुनेछ ।’

२ वर्ष सुधार, ३ वर्ष वितरण

खतिवडाले प्रधानमन्त्रीको टिम र कम्युनिस्ट नेतृत्वको टिमलाई विभिन्न ढंगले भनिसकेका थिए ‘२ वर्ष धैर्य गरौं, त्यसपछि आउने ३ वर्ष घोषणा गरेर होइन कामबाटै लोकप्रिय हुँदै अर्को चुनाव जित्ने अर्थतन्त्र निर्माण हुन्छ । आजको भोलि सरकार ढल्छ भनेर लोकप्रिय बजेट ल्याउने प्रेसरमा हामी छैनौं ।’

अर्थमन्त्री खतिवडाले ल्याएको बजेटको कसैले आलोचना गरेको छ भने कम्युनिस्ट पार्टीका कार्यकर्ताले नै हो । कांग्रेसको विरोध औपचारिकताबाहेक अरु केही होइन । किनकी डा.रामशरण महत र डा.स्वणिर्म वाग्लेहरुले बजेटको वस्तुगत समीक्षा गरेका छन् ।

अर्थतन्त्रका विज्ञहरुले डा. खतिवडाको रणनीतिलाई चिरफार गरिसकेका छन् । खतिवडाको लक्ष्य २ वर्ष सुधार र ३ वर्ष वितरणमार्फत अर्को चुनाव पनि कम्युनिस्ट पार्टीलाई जित्ने मैदान खडा गर्नु हो भन्ने स्वतन्त्र विज्ञहरुले विश्लेषण गरिसकेका छन् ।

अन्तिममा नेकपाका केन्द्रीय सदस्य तथा स्तम्भकार विष्णु रिजालले अर्थमन्त्री खतिवडाबारे गरेको टिप्पणी पनि उल्लेखनीय छ ।

रिजाल फेसबुकमा लेख्छन् ‘डा.युवराज खतिवडाले नेपाल राष्ट्र बैंकमा आफ्ना नीतिहरु ल्ाागू गर्दा धेरैले मन पराएका थिएनन् । तर, त्यही नीतिका कारण आज उहाँको प्रशंसा भइरहेको छ, अर्थतन्त्र सम्हालियो भने र यसपटकको बजेट पनि सबल अर्थतन्त्रको जग खडा गर्न सक्षम हुने अपेक्षा गरौं ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com