‘लोकमानसँगै अन्य भ्रष्ट नेतामाथि पनि कारवाही हुनुपर्छ’


प्रकाशित मिति : कार्तिक १४, २०७३ आईतबार

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकमानसँगै राजनीतिक दल र अन्य क्षेत्रका भ्रष्टाचारीहरुलाई पनि कारवाही हुनुपर्ने बताउनुभएको छ ।

आइतबार बिहान हङकङमा आयोजित अन्तरक्रियामा बोल्दै संयोजक भट्टराईले अख्तियारले छानबिन गरेको दलका नेताहरुको भ्रष्टाचारको मुद्दा पनि अगाडि बढाइनुपर्ने बताउनुभएको हो । अख्तियार प्रमुख लोकमान सिंह कार्की प्रकरणको बारेमा चर्चा गर्दै उनले एउटा चोर देखाएर हजार चोर उम्कन नमिल्ने धारणा राख्नुभयो ।

‘लोकमानलाई पनि म ठिक भन्दिनँ, यसबारेमा सार्वभौम संसदले प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘तर चोरैचोरको बीचमा एउटा चोरलाई देखाएर हजार चोरहरु उम्कनु भएन ।’ उहाँले अख्तियारले अगाडि बढाएको भ्रष्टाचारको मुद्दालाई पनि अगाडि बढाउनुपर्ने र लोकमानसँगै पार्टीभित्रका भ्रष्टाचारीहरुलाई पनि कारवाही हुनुपर्नेमा जोड दिनुभयो ।

संयोजक भट्टराईले अख्तियारजस्तो उच्च संवैधानिक निकायमा दलहरुले भाग लगाएको प्रतिनिधि पठाउन नहुने धारणा राख्नुभयो । उहाँले नेपालको राजनीति भ्रष्टाचारको अखडा बनेको भन्दै यसलाई नरोकी समृद्धि हुन नसक्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘चुहिएको भाँडोमा पानी हालेर भाँडो नभरिएजस्तै देश धनी भएर मात्र जनता धनी हुँदैनन्,’ उहाँले भन्नुभयो, ‘राजनीति भ्रष्टाचारको अखडा भयो, व्यवसायमा असफल भएर राजनीतिमा लाग्नेहरु बढे, कुनै लगानी र जोखिमबिना चाकरी गरेर रातारात नेता बन्ने र चप्पल लगाएर राजनीतिमा छिरेका मान्छे रातारात अरबपति बन्ने अवस्था सिर्जना भयो ।’

उहाँले राजनीतिलाई जनताको सेवा गर्ने संस्था बनाउनुपर्ने भन्दै नयाँ शक्तिले पार्टीभित्रको भ्रष्टाचार रोक्न स्वतन्त्र अनुशासन आयोग र अधिकारसम्पन्न लोकपाल बनाउन लागेको बताउनुभयो । ‘हामीले सर्वोच्चका अवकाशप्राप्त न्यायाधिसको नेतृत्वमा स्वतन्त्र र शक्तिशाली लोकपाल बनाउँदैछौं, यो छिट्टै घोषणा गर्ने छौं,’ उहाँले स्पष्ट पार्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका संयोजक भट्टराईले दुई ठूला छिमेकीसँग झुकेर र भुकेर भन्दा सन्तुलित सम्बन्ध बनाएर लाभ लिन सकिने धारणा राखे । ‘हामी झुक्ने पनि होइन, भुक्ने पनि होइन,’ उहाँले भन्नुभयो, ‘हाम्रो पुर्खाले तोपको विरुद्ध खुकुरी नचाएर बचाएको देशको स्वाधिनता बचाउन सक्नुपर्छ ।’ उहाँले नेपाल दुई ढुंगाबीचको तरुल नभएर दुई सागरबीचको गतिशील पुल हुनुपर्नेमा जोड दिनुभयो ।

‘चीनले सडक विस्तार गर्नुका पछाडि बजार बिस्तार गर्ने स्वार्थ होला,’ उहाँले भन्नुभयो, ‘तर हामीले पनि यसबाट फाइदा लिनसक्छौं । यी दुई विशाल बजारलाई जोडेर, यहाँका ठूला लगानी कर्ता भित्र्याउन सके, नेपालले पनि हङकङले जस्तै विकास गर्न सक्छ ।’

नेता भट्टराईले ८० वर्ष लोकतन्त्रको लागि लडेर पनि ठिक प्रणाली बनाउन नसकिएको भन्दै नेपालको जनशक्ति, प्राकृतिक स्रोत साधन प्रयोग गरेर छिट्टै समृद्ध मुलुक बनाउन सकिने अवधारणा अगाडि सार्नुभयो । ‘विश्वको औसत प्रतिव्यक्ति आम्दानी ४–५ हजार डलर छ भने धनी देशको प्रतिव्यक्ति आय ४०–५० हजार डलर छ,’ उहाँले भन्नुभयो, ‘तर हाम्रो प्रतिव्यक्ति आए ७०० डलर पनि छैन, यो भनेको दैनिक दुई डलर हो ।’ उहाँले नेपाल यसरी विकासको पिंधमा कहिलेसम्म रहने भन्दै अब विकास र समृद्धिलाई अर्जुनदृष्टि बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

‘विकास कसरी हुन्छ ? सबैतिर एकै किसिमले विकास हुँदैन । हाम्रो देशमा आफ्नै विकासको बाटो हुनसक्छ । विज्ञहरुलाई समेत राखेर विकासको नक्सा कोरेका छौं,’ उहाँले भन्नुभयो, ‘राजनीतिक स्थिरता र जनताको व्यापक सहभागितामा १५ वर्षभित्र ४००० डलरमा प्रतिव्यक्ति आय बनाएर मध्यम स्तरको विकसित नेपाल बनाउन सकिन्छ ।’ उहाँले आफू अझै २५ वर्ष बाँचे १२ हजार डलर प्रतिव्यक्ति आम्दानी भएको हङकङजस्तै विकसित नेपाल देखेर मर्ने धोको रहेको बताउनुभयो ।

संयोजक भट्टराईले सिंगापुरमा लि क्वान युले ३० वर्ष, मलेसियामा महाविरले २२ वर्ष र कोरियामा एकैजनाले १८ वर्षसम्म शासन गरेर विकसित तुल्याएको उदाहरण दिँदै नेपालमा राजनीतिक अस्थिरता विकासको बाधक भएको बताउनुभयो । ‘म जम्मा ९ महिना प्रधानमन्त्री भएँ, ९ महिनामा त भगवानले पनि केही गर्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘अबको संविधान संशोधनमा प्रत्यक्ष कार्यकारी प्रणालीमा जानुको विकल्प छैन, यसको लागि सबैले आवाज उठाउनुपर्छ ।’

नेता भट्टराईले नेपालमा पार्टीभित्रको लोकतन्त्रमा पनि समस्या रहेको भन्दै नयाँ शक्तिले एक व्यक्ति एक पद, एक व्यक्ति दुई कार्यकाल र प्रत्यक्ष निर्वाचित नेतृत्वको व्यवस्था गरेको बताए । ‘नेपालमा एउटै जाति र परिवारबाट नेतृत्वमा पुग्ने र युवाहरु नेतृत्वमा नपुग्ने समस्या छ,’ उहाँले भन्नुभयो, ‘विकास र समृद्धिको लागि युवा पुस्तालाई नेतृत्वमा पु¥याउनुको विकल्प छैन ।’

कम्युनिष्ट भनिने चीनमा समेत अहिले युवा नेतृत्व हावी भएको आफूले पाएको बताउँदै उहाँले नेपालमा लोकतन्त्रवादी भन्नेहरुले राजनीतिक दललाई बुढाहरुको पार्टी बनाएको बताउनुभयो ।

श्रोत : नयाँ शक्ति नेपाल

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com