ओली र नेपालसँग भीम रावल असन्तुष्ट, केन्द्रीय सदस्यको सूची सच्याउन दबाव


प्रकाशित मिति : जेष्ठ ७, २०७५ सोमबार

। नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले शीर्ष नेतालाई भेटेर केन्द्रीय सदस्य मनोनयन सच्याउन चेतावनी दिएका छन् । ९ सदस्यीय हाइकमाण्डमा नपरेपछि असन्तुष्ट बनेका रावलले पूर्व एमाले समूहबाट मनोनित ४५ जना सदस्यको सूचीमा आपत्ति जनाएका हुन् ।

रावलले आइतबार अध्यक्ष केपी शर्मा ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर असन्तुष्टि जनाएका छन् । ओली र नेपालले तय गरेको सूचीमा ७ नम्बर प्रदेशबाट समावेश भएका नाममा रावलले असहमति जनाएका छन् । सूची नसच्याए स्वीकार्य नहुने जानकारी समेत गराइएको रावलनिकट स्रोतले जनाएको छ ।

पूर्वएमालेको तर्फबाट मनोनित ४५ जनाका सूचीमा ७ नम्बर प्रदेशबाट भानुभक्त जोशी, दयालबहादुर शाही, लीला भण्डारी र गौरी ओलीको नाम समावेश छ । प्रदेशका वरिष्ठ र योग्य नेताहरुलाई पाखा लगाएर जनता कार्यकर्ताले नचिनेका मान्छेलाई समेटिएको आरोप रावलको छ ।

रावलले ओली र नेपाल मिल्दा आफू खुसी भए पनि दुई नेता मिलेर मनपरी गरेको भन्दै आपत्ति जनाएका छन् । रावल तत्कालीन नेकपा एमालेको उपाध्यक्ष तथा ७ नम्बर प्रदेश संयोजक थिए । पार्टी एकता प्रक्रियादेखि मनोनयनसम्म आफूसँग सल्लाह नगरिएको र बाइपास गरिएको गुनासो रावलले गरेका छन् ।

रावलले राजेन्द्रसिंह रावल, गोविन्द कलौनी, दिनेशचन्द्र सुवेदी, हर्कबहादुर सिंह, माया भट्ट, दामोदर भण्डारीलगायतको नाम सिफारिस गरेको बताइएको छ । तर उनको सिफारिसभन्दा बाहिरबाट नेताहरुले नाम ल्याएपछि असन्तुष्टि बढेको हो ।

मनोनित केन्द्रीय सदस्यहरुको सूची नसच्याए तल्लो तहमा भेला आयोजना हुने चेतावनी समेत नेतृत्वलाई दिइएको छ । केन्द्रीय सदस्य, जिल्ला कमिटी, संघीय संसद् र प्रदेशसभा सांसदहरुका साथै स्थानीय तहका पदाधिकारीले समेत भेला आयोजना दबाव दिइरहेको रावलनिकट स्रोतले जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन एमालेका कैलाली जिल्ला इञ्चार्ज झपट रावलले मनोनयनको सूची सच्याउन आग्रह गरिएको बताए । उनले हाइकमाण्डमा नपरेकोमा रावल असन्तुष्ट रहेको भन्ने हल्ला गलत रहेको समेत प्रष्ट पारे ।

तत्कालीन एमालेमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग समदूरीमा रहेर काम गरेका रावल प्रभावशाली भूमिकामा थिए । माधव नेपाल प्यानलबाट उपाध्यक्ष जिते पनि रावल ओलीको मन जितेर बसेका थिए । तर पार्टी एकीकरण प्रक्रियामा बाइपास गरिएको भन्दै असन्तुष्ट बनेका छन् ।

नेकपाको ९ सदस्यीय हाइकमाण्ड बन्दा पनि उनी नपरेपछि ओली र माधव नेपालसँग आपत्ति जनाएका थिए । केन्द्रीय सदस्य मनोनयनमा समेत आफूले भनेका मान्छे नपरेपछि रावलले सूची सच्याउन चेतावनी दिएका हुन् ।

रावलले आजै मध्याह्न काठमाडौंको सिनामंगलमा प्रदेशका सांसदहरुसँग छलफल आयोजना गरेका छन् । यद्यपि, यो छलफल बजेटमा प्रदेशका कस्ता आयोजनाहरु समावेश गर्न सुझाव दिने भनेर आयोजना गरिएको स्रोतले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com