ग्रिनल्याण्ड विवादको प्रभाव: अमेरिका–युरोप व्यापार युद्ध पुनः सुरु हुने सम्भावना


प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार

अमेरिका र युरोपबीच गत जुलाईमा भएको व्यापार सम्झौताको अनुमोदन प्रक्रिया युरोपेली संसदले निलम्बन गर्ने तयारी गरिरहेको छ।

युरोपेली संसदको अन्तर्राष्ट्रिय व्यापार समितिसँग निकट स्रोतहरूका अनुसार, यो निर्णय फ्रान्सको स्ट्रासबर्गमा औपचारिक रूपमा घोषणा गरिनेछ।

यो कदमले अमेरिका र युरोपबीच बढ्दो तनावलाई अझ चर्काउने संकेत दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहण गर्ने प्रयास तीव्र बनाउँदै नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने धम्की दिएपछि यो परिस्थिति सिर्जना भएको हो।

यस टकरावले विश्व वित्तीय बजारलाई अस्थिर बनाएको छ। पुनः व्यापार युद्ध सुरु हुन सक्ने र अमेरिकी कदमविरुद्ध प्रतिशोधात्मक कारबाही हुन सक्ने चर्चाले बजारमा चिन्ता बढाएको छ। अमेरिका र युरोप दुवैतर्फका सेयर बजार ओरालो लागेका छन्। युरोपेली सेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ।

एसिया–प्रशान्त क्षेत्रको बजार मिश्रित देखिएको छ। जापान र अष्ट्रेलियाका प्रमुख सूचकांक केही घट्दा हङकङ र मुख्यभूमि चीनका सेयरहरू भने बढेका छन्। अमेरिकी डलर अन्य प्रमुख मुद्राहरूको तुलनामा स्थिर देखिएको छ।

राष्ट्रपति ट्रम्प र युरोपेली नेताहरूबीच गत जुलाईमा स्कटल्याण्डको टर्नबेरी गल्फ कोर्समा भएको वार्तापछि व्यापार तनाव केही कम भएको थियो।

सम्झौताका मुख्य सर्तहरूमा अधिकांश युरोपेली वस्तुमा लाग्ने अमेरिकी कर ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत बनाउने,बदलामा युरोपले अमेरिकामा लगानी बढाउने,युरोपभित्रका नीतिगत परिवर्तनमार्फत अमेरिकी निर्यातलाई प्रोत्साहन गर्ने रहेका छन ।

तर, यो सम्झौता लागू हुन युरोपेली संसदको स्वीकृति अनिवार्य छ। ट्रम्पले ग्रिनल्याण्डको विषयलाई लिएर नयाँ कर लगाउने धम्की दिएको केही घण्टामै जर्मनीका प्रभावशाली युरोपेली सांसद मानफ्रेड वेबरले भने, “अहिलेको अवस्थामा अनुमोदन सम्भव छैन।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युरोपेली संसदको अन्तर्राष्ट्रिय व्यापार समितिका अध्यक्ष बेर्न्ड लाङ्गेले पनि ग्रिनल्याण्डसम्बन्धी धम्कीका कारण सम्झौता निलम्बन गर्नुबाहेक अर्को विकल्प नभएको बताएका छन्।

यो निर्णयसँगै युरोपेली संघ (ईयू) ले अमेरिकाविरुद्ध प्रतिशोधात्मक कदम चाल्ने कि नचाल्ने भन्ने प्रश्न गम्भीर बनेको छ।

गत वर्ष ट्रम्पले “लिबरेसन डे” का नाममा कर घोषणा गरेपछि ईयूले करिब ९३ अर्ब युरो बराबरका अमेरिकी वस्तुमा कर लगाउने योजना बनाएको थियो, जुन वार्ताका कारण हालसम्म स्थगित थियो।

उक्त स्थगनको म्याद ६ फेब्रुअरीमा सकिँदैछ। यदि म्याद थपिएन वा नयाँ सम्झौता अनुमोदन भएन भने ७ फेब्रुअरी देखि ईयूले अमेरिकी वस्तुहरूमा पुनः कर लागू गर्नेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com