नवगठित नेकपा शक्तिशाली बन्यो,सरकारमा स्पष्ट बहुमत


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

दुई ठूला बाम घटक एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत हुने चरण सुरुवात भएको छ । २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टीमा २०१९ सालदेखि टुट–फुटको श्रृंखला सुरु भएको थियो । दुई दलको एकतासँगै बनेको नेपाल कम्यूनिष्ट पार्टी दक्षिण एसियाकै ठूलो र एसियाको तेस्रो ठूलो वामपन्थी दल बनेको छ ।

२००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी २०१९ सालमा पहिलो पटक फुटेको थियो । नेकपाका त्तकालीन महासचिव केशरजंग रायमाझी राजाको पक्षमा पञ्चायतमा बिलय भएपछि पुष्पलाल र तुलसीलाल अमात्यले अलग–अलग पार्टी बनाए ।

२०२८ सालमा तत्कालिन झापाली क्रान्तिकारीले सशस्त्र युद्धबाट एकीकरण गरेको नेकपा माले २०४७ सालमा माक्र्सवादीसँग मिलेपछि नेकपा एमाले बन्यो ।

२०३४ सालमा मोहनविक्रम सिंहले पुनर्गठन गरेको नेकपा चौथो महाधिवेशन एकता केन्द्र हुँदै २०५२ सालमा माओवादी धारा बनेर सशस्त्र क्रान्तिको नेतृत्व गरेको थियो । बिहीवार यि दुवै धार एकै ठाउँमा आउँदा एसियामा चीन र भियतनामपछि नेपाल कम्यूनिष्ट पार्टी तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

पार्टी संगठन, स्वचालित कार्यकर्ता, सामाजिक संस्थामा पहुँच र स्रोत–साधनका दृष्टिले मात्र होइन संसदीय मोर्चामा बलियो पकडका कारण पनि नवगठित नेकपा शक्तिशाली बनेको छ । एकतासँगै केन्द्र, प्रदेश र स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी झनै बलियो बनेको छ ।

प्रतिनिधिसभा : २७५ मध्ये १७४ सदस्य

राष्ट्रियसभा: ५९ मध्ये ४२ सदस्य

६ प्रदेशमा बहुमत

प्रदेश १: ९३ मध्ये ६७ सदस्य
प्रदेश २: १०७ मध्ये ३२ सदस्य
प्रदेश ३: ११० मध्ये ८१ सदस्य
प्रदेश ४: ६० मध्ये ३२ सदस्य
प्रदेश ५: ८७ मध्ये ६१ सदस्य
प्रदेश ६: ४० मध्ये ३३ सदस्य
प्रदेश ७: ५३ मध्ये ३९ सदस्य
स्थानीय तह :

६ महानगरमध्ये ३ मा प्रमुख/ १ मा उपप्रमुख
११ उपमहानगरमध्ये ७ मा प्रमुख
२८० नगरपालिकामध्ये १४६ मा प्रमुख/१७२ मा उपप्रमुख
४८६ गाउँपालिकामध्ये २४३ मा अध्यक्ष/२६२ मा उपाध्यक्ष

बहुलतायुक्त खुला समाज, प्रतिस्पर्धामार्फत श्रेष्ठता, आधुनिक लोकतन्त्रका मूल्य–मान्यताप्रति प्रतिबद्धतासहित दुई ठूला वाम दलको एकीकरणले लोकतन्त्रको सुदृढिकरण, स्थिर शासन तथा विकास र समृद्धिमार्फत जनआकांक्षाको सम्बोधन हुने अपेक्षा छ ।

हिंसात्मक बाटो हिँडेर समाजवाद ल्याउने लक्ष्य राखेको नेकपाका लागि चुनावी बाचा पूरा गरी नागरिकको पक्षमा काम गर्न तीनै तहको सरकारमा सुविधाजनक बहुमत छ । राष्ट्र र नागरिक हितको पक्षमा नेकपा नेतृत्वको तीनै तहका सरकारलाई अरुलाई दोष दिएर पन्छिने ठाउँ अब रहेन ।

तीन वटै तहमा स्पष्ट बहुमतको सरकार रहेकै कारण ‘आफू निरन्तर पेलाइमा पर्ने हो कि ?’ भन्ने नेपाली कांग्रेसको आशंका मेटाउँदै नागरिकलाई महसुस हुने गरी परिवर्तन दिनु नै नेकपाको सबैभन्दा ठूलो चुनौती हो ।

बहुमतको दम्भले अहंकार बढाउन सक्ने खतरा रहे पनि नेकपालाई समयले यूगीन अबसर दिएको छ । त्यो अबसर छोप्न सकिएन भने सफलता चुम्दै गरेको नेपाली वाम आन्दोलन पुनः खुम्चिने अवस्थामा पुग्ने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com