महिला हिंसा रोक्न पुरुष आवाज


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

गाउँमा दाइजो उन्मुलनमा डेढ वर्षदेखि लागेका परोहा नगरपालिका ४ लौकाहाका पुरुषहरु अहिले सफल भएका छन् ।
२०७३ साल कार्तिक २० गतेबाट शुरु गरिएको प्रयासबाट अहिलेसम्म उनीहरुले झन्डै एक करोड रुपैयाँ बराबरको दाईजो फिर्ता गरिसकेका छन् ।

तिलक, दहेज बन्द अभियान समितिको सदस्य मोहम्मद मकसुद राँकी भन्छन्, ‘पुरुषहरु नै मिलेर गरिएको अभियान अहिले सफल भएको छ ।’

दाईजोकै कारण गाउँमा हिंसाका घटना बढ्न थालेपछि २२ जना पुरुषको समुहले दाइजो उन्मूलन अभियान समिति नै उनीहरुले खडा गरेका थिए । ‘मुस्लिम समुदायमा समेत दाईजो व्याप्त छ । दाईजोकै कारणले महिलाले आत्महत्या गरेका छन् ।’ अभियानका सदस्य राँकी थप्छन्, ‘यही गलत परम्परालाई तोड्न मुस्लिम पुरुषहरुले नै अभियान चलायाै‌ । अभियान सँगसँगै गाउँमा दाइजोकै कारण महिलामाथि हुने गरेका हिंसाका घटना समेत कम भएको छ ।’

बलात्कार विरुद्धको राष्ट्रिय अभियानका इभेन्ट म्यानेजर समुन्द्र केसी सार्वजनिक स्थल लगायत यातायातका साधनमा यात्रा गर्दा महिलाहरु दुव्र्यवहारमा पर्ने गरेको बताउँछन् ।

आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, ‘एकपल्ट काठमाडौं रत्नपार्कबाट लगनखेल जाने क्रममा माइक्रोमा युवतीलाई एक पुरुषले दुव्र्यवहार गरे । त्यो पुरुषले पछाडिबाट महिलालाई धकेली रहेका थिए । मैले देखें । त्यो पुरुषलाई हप्काए । अनि एक जना बुढि आमा पनि कराइन् । सबै जना एक भयौं र त्यो व्यक्तिलाई लगनखेल प्रहरीमा बुझायौं ।’ महिलामाथि हुने हिंसाका विरुद्ध सबै एक भएर आवाज उठाउनुपर्ने उनी बताउँछन् ।

बलात्कार विरुद्धको राष्ट्रिय अभियान शुरुआतकर्ता संजोग क्षेत्री भन्छन् ‘यदि छिमेकमा महिलामाथि हिंसा भइरहेको छ भने मेरो घरको समस्या होइन भनेर चुप बस्नु हुँदैन । उसलाई संरक्षण दिएर सो घरका पुरुष सदस्यलाई सम्झाउनुपर्छ ।’

माथिका उदाहरणबाट प्रष्ट हुन्छ कि महिला हिंसा रोक्न पुरुष आवाज प्रभावकारी हुन्छ । करिब तीन दर्जन चलचित्रमा अभिनय गरिसकेका कलाकार दयाहाङ राई पनि यो कुरा स्वीकार गर्छन् । उनी भन्छन्,‘लैगिक हिंसा बढी घुलमिल हुने व्यक्तिबाटै हुन्छन्, त्यसले उनीहरुबाटै सजग हुनुपर्छ ।’

कडा कानून ल्याउँदैछौ : मुख्य मन्त्री राउत

प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत महिलामाथि हुने हिंसा रोक्न कडा कानून बनाउने तयारीमा रहेको बताउँछन् । उनी भन्छन्, ‘महिलामाथि हुने हिंसा न्यूनिकरण गर्न प्रदेशले कडा कानून ल्याउँदै छौ ।’

कार्यक्रम समकोणको छलफलका क्रममा मुख्यमन्त्री राउतले कानून बनाएर मात्र नहुने भन्दै यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए ।
सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले आफ्नो प्रदेशबाट महिला हिंसाका अभियुक्तहरुले पहुँचको आधारमा उन्मुक्ति पाउने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए ।

महिला हिंसा अन्त्यका लागि शिक्षा महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै आफ्नो ५ वर्षे कार्यकालमा प्रदेश दुईका सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउने प्रतिबद्धता जनाए । उनले पुरुष प्रधान समाज रहेको भन्दै यसलाई चिर्न समय लाग्ने बताए ।

कार्यक्रमको छाँयाकनको समयमा सहभागिले महिलामाथि हुने हिंसा रोकथाममा सबै पुरुषहरु जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।
यहि विषयमा रहेर छलफल गरिएको कार्यक्रम समकोण आज शुक्रबार बेलुकी ९ देखि १० बजेसम्म कान्तिपुर टेलिभिजन र समकोण यूट्युब च्यानलबाट प्रसारण हुँदैछ । हेर्न नछुटाउनुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com