श्रीमान् हुनु त यस्ताे !


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

हिजोआज श्रीमानले श्रीमतीलाई कुटपिट गरेको समाचार नपढेको दिनै छैन । यस्तो देख्दा, सुन्दा कहाली लाग्छ । पुरुषले नै महिलामाथि हिंसा गरेका छन् । श्रीमान, ससुरा, देवर, जेठाजुबाटै महिला पीडित छन ।

          रमेश काेली

कति महिलालाई न्याय दिलाउन त म पनि प्रहरी कार्यलय पुगेको छु । रक्सी खाने श्रीमतीलाई कुटपिट गर्ने, घरबाहिर गए शंका, गर्ने चरित्रमाथि नै प्रश्न गर्ने श्रीमानहरु देखेर मनमा अनेकौं प्रश्न उब्जिरहन्छन् ।

मेरो श्रीमती बैतडीकाे पाटन नगरपालिकाको उपमेयर छिन् । उनी घरबाट कतिबेला निस्किन्छिन् कतिबेला फर्किन्छिन् ठेगान हुँदैन । यस्ता कुरामा मलाई मतलब पनि हुँदैन ।

श्रीमतीको काम परेर बाहिर निस्किन् भने म खाना बनाउँछु । उनी घरमै भए भए दुबै मिलेर खाना बनाउँछौं । श्रीमतीको लुगा पनि धुन्छु ।
हामीले श्रीमान् र श्रीमतीले यो यो गर्नुपर्छ भनेर कहिल्यै काम तोकेनौं । समय भएको बेला दुबै मिलेर काम गछौं । समय नहुँदा घरको काम म गर्छु । श्रीमतीले गर्ने काम सबै म गर्छु । मेरो समय नभएको बेला मैले गर्नुपर्ने काम उनले गर्छिन् ।

अहिले उनलाई उपमेयरसा’प भनेर सम्बोधन गर्छु । मैले उनको पदको सम्बोधन गरेको सुन्दा कोही हाँस्छन् । कोही जोइटिंग्रे भन्नेहरु पनि भेटिन्छन् । तर मलाई कसैसँग मतलब हुँदैन । मेरो श्रीमतीलाई मैले सम्मान दिए पो अरुले पनि सम्मान दिन्छन् ।

हाम्रो विवाह २०५७ साल असारमा भएको हो । दुबै पक्षको सहमतिमै मागी बिहे भएको हो । अहिले १ छोरा र १ छोरी छन् । छोराछोरी पनि हुर्किसके छोरा अहिले १७ वर्षको भयो, छोरी १५ वर्षकी ।

छोराछोरीलाई हुर्काउँदा मैले बुबा आमा दुबैको भूमिका निभाएँ । छोराछोरीको दिसा पखाल्नेदेखि लिएर सरसफाई गर्ने उनीहरुको कपडा धोइदिने, नुहाइदिने पनि गरेको छु । हामी दुबैजना राजनीति गर्ने मान्छे ।

म अहिले नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघको जिल्ला अध्यक्ष हो । उपमेयरसा’प (श्रीमती) जस्तै व्यस्त पनि छु । दुबै जनाको आ–आफ्नो जिम्मेवारी पनि छ । व्यस्त भएपनि समय मिलाएर घुम्ने, रमाइला कुराकानी गर्ने, छोराछोरीहरुसँग रमाइलो गर्ने समय पनि निकालेकै हुन्छौं ।

म आफ्नो काम छोडेर श्रीमतीको लुगा धुने मात्रै पनि हैन । मलाइ पनि आफ्नो काम गर्नुपर्छ । म आफ्नो काममा व्यस्त हुन्छु । उनी अफ्नै काममा प्यस्त हुन्छिन् । घरमा आए कामपनि मिलेर नै गर्छौ । छोराछोरी पढ्न काठ्माडौं गएका छन् । घरमा हामी दुईजना मात्रै छौं ।

मेरी श्रीमतीले नेपालका ५० जिल्ला घुमिसकिन् । कामको सिलसिलामा उनी बाहिर हिंडिरहन्छिन् । म उनी बाहिर जाँदा अनावश्यक शंका गर्दिन । किनकी म मेरो श्रीमतीलाई बुझ्छु । उनको कामबारे जानकार छु । मलाई त उनलाई बाहिर नयाँ कुरा जान्न पठाउन पाउँदा गौरव लाग्छ ।

मेरी श्रीमती बिना योगदान उपमेयर बनेकी होइनन् । स्थानीय तहको चुनाव पहिले पनि जिल्लामा हुने हेरक गतिविधीमा सहभागी हुन्थिन् । कतिपय कार्यक्रममा त मैले गित गाउने उनले नाच्ने, उनले गित गाउने मैले नाच्ने पनि गथ्र्यौं । स्थानीय तहको चुनावमा उनको योगदान सम्झिन पार्टीलाई दबाब दिएर टिकट दिलाएको हुँ ।

चुनाव प्रचारप्रसारका क्रममा पनि मैले सहयोग गरेँ । नगरपालिकाका प्रत्येक टोलटोलमा पुगें । ‘सरस्वती कोलीलाई भोट दिनुहोला’ भन्दै भोट मागें । दिन रात नभनी प्रचारप्रसारमा लागेें । जनताले विश्वास गरेकाले मेरी श्रीमतीले जित्न सफल भइन् । अरुले उपमेयर सा’पको बुढा भन्दा मलाई गौरव लाग्छ । यो मेरो साथ र उनको परिश्रमले संभव भएको हो ।

हामीले जिन्दगीमा धेरै संघर्ष गर्यौं । बिहे गरेको २ वर्षसम्म पैसा कमाउने कुनै उपाय थिएन । बाउबाजेले गर्दै आएको परम्परागत पेशालाई निरन्तरता दिएँ । आरन थापेर हसिँया, कोदालो बनाएँ ।

त्यसपछि सदरमुकाममा होटेल खोलें । बिहान उठेर म आगो फुक्थें । उनी उनले सरसफाई गर्थिन् । म पानी भर्थें, उनी खाना पकाउँथिन् । दुबै मिलेर ग्राहकलाई खाना दिन्थ्यौं, भाँडा माझ्थ्यौं । २ वर्ष होटेल चलाइसकेपछि म सामाजिक काममा लागें । श्रीमतीलाई पनि सँगै सामाजिक काम आउन प्रेरणा दिएँ ।

विस्तारै सामाजिकसँगै राजनीतिमा पनि व्यस्त भइयो । दुबै व्यस्त भएपछि होटल चलाउन समस्या भयो । त्यसपछि होटल छोडेर राजनीतिमा लाग्यौं ।

विभिन्न उतार चढाव पार गरेर अहिलेको अवस्थामा आइपुगेका छौं । उनलाई नगरपालिकाको काम भ्याइनभ्याइ छ म पनि अलि व्यस्त नै छु । उनी सहनशिल छिन् । घरपरिवार सबैसँग मिलेर बस्छिन् । माया गर्छिन् ।

तर सबै श्रीमान, पुरुषहरु एउटै हुँदैनन् । सबै श्रीमती महिला पनि उही स्वभावका हुँदैनन् । सबै फरक छन् । सबैको सोच विचार पनि फरक छ ।

पितृसतात्मक देशमा अझै यो सोच हाबी छ । घरपरिवारको जिम्मा महिलाको काँधमा हुनुपर्छ । महिला बच्चा जन्माउने मेसिन र चुलोचौकाको सुसारे हुन् भन्ने मान्यताले जरो गाडेको छ । मान्छे शिक्षित हुँदै जाँदा महिलामाथि गरिने हिंसाको स्वरुप पनि परिर्वतन हुँदै जान थालेको छ ।

महिलालाई घरभन्दा बाहिर एक्लै जान दिनु हुँदैन भन्ने मान्यता अझै छ यो समाजमा । यहि समाजका मान्छेले अनेकौं कुराहरु पनि काट्छन् । त्यसैले श्रीमान् श्रीमतीको सहयोगी भएमा समाजका टिप्पणीले उनीहरुको बाटोमा कुनै अवरोध हुँदैन ।

श्रीमानकाे सहयोगले नै उपमेयर भएँ – सरस्वती

मेरो विवाह हुँदा १६ वर्षकी थिएँ । मलाई के राम्रो के नराम्रो थाहा थिएन । अलि धेरै मान्छे भएको ठाउँमा बोल्नै सक्दिन थिएँ । विवाह हुँदा ८ कक्षा मात्रै पढ्थें । अहिले स्नातक पढ्दै छु ।

    सरस्वती काेली

मलाइ श्रीमानले सदरमुकाममा भएका धेरैजसो कार्यक्रममा पठाउनु हुन्थ्यो । उहाँको चाहना थियो मैले केही सिकौं । घरमा कसरी काम गर्ने, बाहिर अरु मान्छेसँग कसरी बोल्ने, कसरी हिँड्ने, कसरी बस्ने, कसरी खाने भन्ने कुरा पनि मलाई श्रीमानले नै सिकाउनुभएको हो ।

छोरा छोरी जन्माउँदा पनि के खाने स्वास्थ्यलाई कसरी स्वस्थ राख्ने भन्ने समेत मलाई थाहा थिएन । श्रीमान्ले नै सिकाउनुभयो, मेरो ख्याल गर्नुभयो । रमेश कोली जस्तो व्यक्ति श्रीमानको रुपमा पाउनु मेरो भाग्य हो । म अहिले पाटन नगरपालिकाको उपमेयर भएको नै श्रीमानको सहयोगले हो ।

निर्वाचन पछि कतिपय उपमेयरहरुलाई श्रीमान्ले शंका गरेर कुटपिट गरेका घटना पनि सार्वजनिक भएको छ । तर, यो शंका के हो ? मेरो श्रीमानलाइ थाह पनि छैन जस्तो लाग्छ । म घर आउँदा कहिले रातको १० बज्छ, कहिले बिहान ६ बजे नै घरबाट निस्कनु पर्छ । तर उहाँले कहिल्यै शंका मान्नु भएन । बरु कसरी कुन कार्यक्रममा मेरो सहभागिता हुनुपर्ने हो । त्यसमा मेरो प्रस्तुती कस्तो हुनुपर्छ सिकाउनुहुन्छ । तर, असहयोग कहिल्यै गर्नुहुन्न ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com