ज्ञानेन्द्रलाई प्रधानमन्त्री ओलीको कटाक्ष, भगवान हैन जनता बन्नुपर्यो


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको खुशीयालीमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पूर्वराजा शाहलाई सो आग्रह गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पूजापाठको नाममा तमासा नदेखाउन पनि पूर्व राजा शाहलाई सचेत गराए । गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्को वर्ष गणतन्त्र दिवस समारोह समितिमा बस्न पूर्वराजा शाहलाई आफूले नै प्रस्ताव गर्ने योजना पनि सुनाए । प्रधानमन्त्री ओलीले राजसंस्थाप्रति संकेत गर्दै विष्णुको अवतारको भ्रममा परेर गतिविधि गर्ने दिन अब समाप्त भएको स्मरण गराए । पूर्वराजा शाहले पनि नागरिकको रुपमा गणतन्त्र दिवसमा रमाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउन मातहतका निकायलाई आवश्यक तयारी गर्न पनि निर्देशन दिए । प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई जनताको भावना प्रतिविम्बित हुनेगरी मनाउने दायित्व सरकारको भएको पनि स्पष्ट पारे ।

उनले गणतन्त्र दिवस जनताको कार्यक्रम भएकाले यसमा व्यापक जनताको सहभागिता हुनेगरी तयार गर्नुपर्नेमा पनि मातहतका निकायलाई सचेत गराए । प्रधानमन्त्री ओलीले जनताको विजयको रुपमा गणतन्त्र दिवस मनाउन लागिएको भन्दै त्यसमा जनताको सहभागितालाई बढाउन जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com