मृत्यु जितेर मात्रै यार्साबाट कमाई


प्रकाशित मिति : जेष्ठ २, २०७५ बुधबार

–रामचन्द्र न्यौपाने
जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटनहरु यार्सागुम्बा संकलनका लागि खुला गरिएसँगै सर्वसाधारण आफूले जान चाहेको पाटन रोज्दै धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन् ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जिल्लाका विभिन्न नाकाबाट संकलन इजाजतपत्र वितरण गर्दै हिजोबाट यार्सागुम्बा पाटन जान खुल्ला गरेको हो ।

मध्यवर्ती क्षेत्र भित्रकालाई रु एक हजार, मध्यवर्ती क्षेत्र बाहिर डोल्पा जिल्लाका सर्वसाधारणलाई रु २५ सय र जिल्ला बाहिरकालाई रु ३५ सय रकम तोकिएको निकुञ्जले जनाएको छ ।
डोल्पामा सयौँको सङ्ख्यामा रहेका यार्सागुम्बा पाटनमा दशौं हजार सर्वसाधारण वनस्पती र जीवको दुबै गुण पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको खोजीमा पुगिसकेका छन् । यार्सागुम्बा टिपेर आम्दानी गर्नका लागि गर्भवती, सुत्केरी महिला दूधेबालक च्यापेर यार्सागुम्बा पाटन पुगेका छन् ।
आम्दानीको मुख्य स्रोत
बहुमूल्य जडीबुटी यार्सागुम्बा डोल्पाली जनताको मुख्य आम्दानीको स्रोत हो । नेपालमै गुणस्तरीय र धेरै परिमाणमा यार्सागुम्बा पाइने क्षेत्रको रुपमा समेत डोल्पा चिनिन्छ ।

डोल्पाली जनताको जीवनस्तरसँग जोडिएको यार्सागुम्बाको संकलनका लागि वर्षेनी दशौँ हजार सर्वसाधारण वन्दोवस्तीका सामानसहित डोल्पाका उच्च हिमाली यार्सागुम्बा पाटनमा पुग्ने गर्दछन् । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि डोल्पामा यार्सागुम्बाको महाकुम्भ मेला सुरु भएको छ ।
यार्सागुम्बा संकलन गरी वर्षभरिको खर्च जुटाउने लक्ष्यसहित डोल्पाबाट मात्रै नभई छिमेकी जिल्ला रुकुम जाजरकोट, जुम्लालगायतका विभिन्न जिल्लाबाट पनि सर्वसाधारण डोल्पाका उच्च हिमाली भू–भागमा पुगेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्रिपुरासुन्दरी नगरपालिका–१ का लोकमान श्रेष्ठ पनि बन्दोबस्तीका सामानसहित भाङ्का पाटनमा यार्सागुम्बा टिप्न पुगिसकेका छन् । साना बच्चाबच्चीलाई घर कुरुवाको भरमा घरमै छाडेर पाटन हिँडेका श्रेष्ठ यसवर्ष एक महिने अवधिमा दुई लाखसम्म कमाउने लक्ष्य रहेको बताउँछन् ।

त्यस्तै त्रिपुरासुन्दरी नगरपालिकाकै जमानसिँह कठायत पनि विगत वर्षमा जस्तै यसपटक पनि यार्सागुम्बा टिपेर राम्रो आम्दानी गर्ने सुरमा छन् । पाटनमा पुगेर यार्सागुम्बा टिप्ने आफू एक्लैले दुई लाख रुपैयाँसम्म कमाउने लक्ष्य रहेको उनले बताए ।

यार्सागुम्बाबाट धेरैले राम्रो आम्दानी गर्न सकेपनि कतिपयले भने उल्टो नोक्सानी ब्यहोर्नुपर्दछ । यार्सागुम्बा टिप्ने समयमा पचासौँ हजारका उधारो सामान लिएर पाटन पुग्छन्, भनेजति यार्सागुम्बा नपाएपछि घरको अन्य आम्दानीबाट उधारो रकम चुक्ता गर्नु पर्दछ । त्यसो त यार्साको कमाइको साटो साहुसँग ऋण काढेर व्यापारीको उधारो चुक्ता गर्दा ऋणबाट माथि उठ्न नसकेका थुप्रै उदाहारण छन् ।
यार्साले बनायो सुनसान
यार्सारुपी सुन खोज्नु डोल्पालीको रहर नभई नियति नै हो । वर्षभरिको कमाइ गर्न हिमाली भेगमा पुग्नु उनीहरुको रोजगारी हो । त्यसो त यार्सागुम्बा टिपेर मनग्य आम्दानी गर्नका लागि गाँउबस्ती नै सुनसान पारेर डोल्पावासी यार्सागुम्बा पाटनको यात्रा तय गरिसकेका छन्् । यहाँका करेलीकाँडा, पहाडा, सुँ, ल्हा, माझफाल, रह, तल्लो डोल्पाका कालिका, नर्कु, इल, उपल्लो डोल्पाका साल्दाङ, भिजेर, मुकोट, फोक्सुन्डोलगायतका वस्तीहरु सुनसान छन् ।
पशु चौपायासहित दूधेबालक, सुत्केरीसहित पाटनतिर गएपछि यहाँका बस्तीहरु सुनसान बन्दै गएको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय नैनानन्द देवकोटाले बताउनुभयो । गाउँघरमा बृद्धबृद्धाबाहेक अरु कोही नभेटिने गरेपछि काम गर्ने मान्छे नपाउँदा जेठबाट सुरुहुने धान रोपाइ गर्नसमेत समस्या हुने गरेको देवकोटाले बताउनुभयो ।

प्रतिगोटा रु ५०० देखि १५ सयसम्म पर्ने यार्सागुम्बा समयको प्रभाव छिमेकी जिल्ला रुकुम, जाजरकोटमा पनि धेरै पर्ने गर्दछ । यार्सागुम्बा समयमा रुकुम जाजरकोटबासी समेत घरमा ताला लगाएर परिवारसहित यार्सागुम्बा खोज्न डोल्पा पुग्छन् ।
मृत्यु जितेर कमाई
यार्सागुम्बा संकलन गर्नु सोचेजति सहज छैन् । हिमालका उच्च भू–भागसम्म पुग्नु मृत्युलाई जिते सरह हो । चार हजार मिटरभन्दा धेरै उचाइ भएका हिमाली पाटनमा मात्र पाइने यार्सागुम्बा संकलन गर्नु अत्यन्तै जोखिमपूर्ण कार्य हो । वर्षेनी थुप्रै सर्वसाधारणको चिसो र लेक लागेर मृत्यु हुने गर्दछ ।
यार्सागुम्बा पाइने हिमाली पाटनसम्म पुग्न अप्ठेरा र अनकन्टार भिरका बाटाहरु पार गर्नु पर्दछ । यार्सागुम्बा पाटन पुगिसकेपछि पनि भारी हिमपात, वर्षात्का बीच पनि दिनभर घुँडा धसेर खोज्नुपर्ने हुँदा अत्याधिक चिसोका कारण धेरैजना विरामी पर्ने र कतिपयको त निधनसमेत हुने गरेको त्रिपुरासुन्दरी–१ का कालुप्रसाद हमालले बताउनुभयो ।
विद्यालय बन्द, कार्यालयको कामकाज प्रभावित
बहूमुल्य जडिबुटी यार्सागुम्बा संकलन गर्ने समय सुरु भएलगत्तै डोल्पाका अधिकांश विद्यालय बन्द भएका छन् । विद्यार्थी मात्र नभई शिक्षकहरु पनि यार्सा टिप्न पाटनतर्फ जाने भएकाले डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्दछन् । औपचारिक बिदा नभएपनि सम्पूर्ण विद्यार्थी यार्सागुम्बा पाटन जाने गरेरकाले विद्यालयहरु स्वतः बन्द हुने गरेको त्रिपुरा माविका प्रधानाध्यापक हेमराज हमालले बताउनुभयो ।

त्यस्तै यार्सागुम्बा संकलनकाने समय सुरु भएसँगै जिल्लाका आठवटै स्थानीय तहमा सेवाग्राहीको चाप घटेको छ । सर्वसाधारण सबै यार्सागुम्बा टिप्न पाटन गएपछि सेवाग्राहीको चाप घटेको त्रिपुरासुन्दरी नगरपालिका प्रशासकिय अधिकृत भीम धरलाले बताउनुभयो । त्यस्तै मुख्य बजारहरु समेत सुनसान बन्दै गएका छन् भने यार्सागुम्बा पाइने सयौँ पाटनहरु भने रङ्गीचङ्गी पालले रङ्गीएका छन् ।
तीनवटै सुरक्षा निकाय परिचालन
यार्सागुम्बा संकलनको समयलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तीनवटै सुरक्षा संयन्त्र परिचालन गरिएको छ । विगतका वर्षमा जस्तै यसवर्ष पनि सुर्खेतबाट ७५ जनाको सङ्ख्यामा सशत्र प्रहरी डोल्पा आइपुगेको छ । त्यस्तै १५० भन्दा धेरै प्रहरी परिचालन गरिएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताउनुभयो । निकुञ्ज सुरक्षार्थ नेपाली सेना पनि तोइजुम, छेप्का, सुन्दरलगाएतका पोष्टहरुमा सेना बसिरहेको शे–फोक्सुन्डो निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदेब चौधरीले बताउनुभयो ।

यार्सागुम्बा सिजन अवधिभर हुने हत्या,हिंशा,लुटपाट,चोरी डकैटीलाई नियन्त्रण गर्नका लागि तीनवटै सुरक्षा निकाय परिचारलन गरिएको बताइएको छ । यतिखेर यार्सागुम्बाको कारोवारका लागि करोडौँ रुपैयाँ बोकेर ब्यापारीहरु डोल्पा भित्रने गर्दछन् । जिल्लाको सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै त्रिपुराकोट, कालागौँडा लगायतका नाकाहरुमा प्रहरीले विशेष सर्तकता अपनाएको जिप्रका डोल्पाले जनाएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com