सासू ससुराले गरिदिए विधवा बुहारीको विवाह


प्रकाशित मिति : जेष्ठ २, २०७५ बुधबार

संस्कार र परम्पराका नाममा विद्यमान कूसंस्कारहरु तोड्न सहज छैन । त्यसैमा पनि मधेसी समुदायमा परिवर्तन ल्याउन झनै कठिन छ । तर विविध कठिनाइका बाबजुद मधेसी समुदायको एक परिवारले चुनौतीको सामना गर्दै उदाहरणीय कार्य गर्न सफल भएको छ ।

जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ का श्याम गुप्ताको परिवार आफ्नी विधवा बुहारीको विवाह गरेर उदाहरणीय बनेको छ ।
गुप्ताले २९ वर्षीया बुहारी किरणलाई गएको सोमबार भारतको नौगढका डाक्टर सुसान्त कुमार जयसवालसँग विधिवत् विवाह गरिदिएका हुन्।

दुई छोरा, एक छोरीका बुबा श्यामका जेठो छोरा अमितरातको दुर्घटनामा अल्पआयुमै मृत्यु भएको थियो । छोराको दुर्घटनामा निधन भएको घटनाले बुहारीलाई झनै पीडा भएको भन्दै उनैको खुसीको लागि विवाह गरिदिएको ससुरा गुप्ताले बताए ।

‘छोरा मान्छेले श्रीमती बितेको केहि दिनमै विवाह गर्छन् । तर छोरी मान्छेले जीवनभर गर्दैन् । समाजले पनि छोरीले पुनः विवाह गरेको राम्रो मान्दैन । मन त सबैको उस्तै हो । यही भावनालाई बुझेर नै मैले बुहारीको विवाह गरिदिएको हुँ’ उनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली समाजमा कूसंस्कारलाई हटाई सामाजिक रुपान्तरणका लागि आफूले बुहारीलाई छोरीको व्यवहार गरेर सुन्दर भविष्यको लागि विवाह गरिदिएको उनको भनाइ छ ।

आफूले रंगिला मावि थुन्हिया कपिलवस्तुमा ३७ वर्ष शिक्षण पेशा गरी अहिले अवकास लिइसकेको उनले बताए । आफूसागको ज्ञानले आफ्नै परिवारमा नै परिवर्तन ल्याउने र त्यो परिवर्तन समाजले अनुकरण गर्न लायक होस् भन्ने आफ्नो उद्देश्य रहेको श्यामको भनाइ छ ।
यस्ता कार्यले समाजमा छोरा र छोरी माथि हुने विभेद हट्ने उनको विश्वास छ ।

सात वर्षअघि छोरा अमितरात गुप्ताको दुर्घटनामा परि मृत्यु भएपछि बुहारी किरण एकल बनेकी थिइन् । सासु मञ्जुलता गुप्ताले पनि बुहारीको खुसीको लागि विवाह गरिदिएको बताइन् ।

‘छोरा बितेपछि एक्लो जीवन बिताउन गाह्रो हुने भन्दै हामीले सम्झायौं, उनले मानिन् । दुवैको राजी खुसीले विवाह गरिदियौं’ मञ्जुलताले भनिन् । बुहारी भए पनि छोरीको व्यवहार गरि विवाह गरिदिएको उनले बताइन् ।

किरणकी ८ वर्षीया छोरी छन् । विवाह अगाडि नै नातिनी र बुहारीको संयुक्त नाममा अंश समेत दिएको सासु मञ्जुलताले बताइन् ।
‘बुहारीको भविष्य राम्रो देख्न हामी चाहन्छौँ ।

विवाह अगाडि नै सबै कुरा बताएर विवाह गरिदिएका छौँ । नव विवाहित जोडी र हाम्रो परिवार खुसी भएका छौं’ मञ्जुलताले महिला खबरसँग भनिन् ।

Mahila Khabar

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com