उपमेयरको पहलमा बबिता १२ वर्ष पछि जञ्जिर मुक्त, उपचारमा समस्या
प्रकाशित मिति : जेष्ठ २, २०७५ बुधबार
१२ सम्म गाईको गोठमा फलामको जञ्जिरमा बाधिएकी सप्तरीकी एक महिला जञ्जिर मुक्त भएकी छन् ।
१२ वर्ष पहिले मानसिक सन्तुलन गुमेपछि फलामको जञ्जिरमा गाई गोठमा बाँधिएकी सप्तरीको विष्णुपुर गाउँपालिका–६ रञ्जीतपुरकी २८ वर्षिया बबिता यादवलाई राजबिराज नगरपालिकाकी उपमेयर साधना झाको पहलमा सुरक्षा गृहमा राखिएको हो ।

२०६२ सालमा बेल्ही चपेना गाउँपालिका–६, फकिरा निवासी अग्निदेव यादवसँग बबिताको विवाह भएको भएको थियो ।
विवाहमा बबिताका आमाबुबाले माग अनुसारको दाईजो दिएको तर एउटा पलङ्ग मात्र दिन बाँकी भएका कारण अग्निदेवको परिवारले मानसिक यातना दिदाँ बबिताको मानसिक अस्वस्था बिग्रिएको माइती पक्षको भनाइ छ ।
बबितालाई महिला तथा बालबालिका कार्यालयको सुरक्षा गृहमा राखे पनि उपचार गराउने पैसा कहाँबाट जुटाउने भन्ने समस्या भएको उपमेयर साधनाले महिला खबरलाई बताइन् । आफ्नै जिल्लामा गाई गोठमा बाधिएकी युवती बाँधिएको समाचार र फोटो फेसबुकमा भेटे पछि उनको उद्धार गरेको पनि झाले बताइन् ।
‘यो घट्ना बारे विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष जलधिरा यादबलाइ खबर गरेर बबिताको घरमा गएँ । उनलाई बाँधिएको गोठबाहिर बाख्रा थिए । उनलाई अध्यारो गोठमा फलामको जञ्जिरले बाँधेको देख्दा निकै नरमाइलो लाग्यो । शरीरको माथिल्लो भागमा लुगासमेत थिएन । अध्यारो गोठमा गोरुलाई भन्दा कसिलो गरेर बाँधिएकी बबितालाई मुक्त गर्न पाउँदा खुसी लागेको छ’ उपमेयर झाले भनिन् ।
उपमेयर झाले बबिताको उपचारमा सहयोग गरिदिन समेत सबैलाई आग्रह गरेकी छन् । बबिताको माइतीको अवस्था एक छाक खान समेत नपुग्ने छ । २०६२ सालमा आफूसँग भएको दुई कठ्ठा जमिन बेचेर बहिनीको विवाह गरिदिएका बबिताका दाजु विशेश्वर यादवले उपचार गर्न नसकेर बाध्य भई बहिनीलाई यसरी राखेको बताए ।
दाइजोका कारण श्रीमानको परिवारले दिएको शारीरिक र मानसिक यातना मनमै गुम्साएर राख्दा बबिताको मानसिक सन्तुलन गुमेको पनि यादवले बताए ।
‘त्यतिकै छोड्दा लुगा च्यात्ने, एकोहोरो हिँड्ने, रुने कराउने, अरुलाइ गाली गर्ने गरेपछि गोठ भित्रै बाँधेर राखिएको हो’ उनले भने, ‘आफूले भ्याएसम्मको उपचार गराउँदा पनि सुधार भएन । बाहिर लिएर ठूलो अस्पतालमा भर्ना गर्ने पैसा थिएन ।’
बहिनीको मानसिक सन्तुलन गुमेपछि उनलाई घरमा ल्याएर राखेको यादवले बताए । ज्वाइँ अग्निदेवले भने बबितालाई आफूले ल्याइसके कहिल्यै सोधपुछ समेत गरेनन् । बरु अर्को विवाह गरे बसेका छन् । त्यो कुरा थाहा पाए पछि बबिताको मानसिक सन्तुलन पहिले भन्दा झनै बिग्रेको पनि विशेश्वरले बताए ।






