ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता तालीम


प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार

नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयको प्रवद्र्धन एवं इलाका प्रहरी कार्यालय, डाँडाको नाक र लेखनाथ होटल व्यवसायी संघको आयोजनामा लेखनाथ क्षेत्रमा ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता विषयक तालीम प्रदान गरिएको छ ।

पर्यटक सर्वप्रथम ट्याक्सी चालकसँग सम्पर्कमा जाने भएका कारण उनीहरूलाई पर्यटकसँग गरिने व्यवहारलगायतका जानकारी दिने उद्देश्यका यस क्षेत्रका ७० जना ट्याक्सी चालकलाई तालीम प्रदान गरिएको नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले जानकारी दिनुभयो ।

“पहिलो पर्यटक राजदूतका रुपमा ट्याक्सी चालक हुने भएका कारण उनीहरूलाई पर्यटनका आधारभूत विषयमा जानकारी हुनु आवश्यक छ,” उहाँले भन्नुभयो, “लेखनाथमा धेरै पर्यटकीय गन्तव्य भएका कारण ट्याक्सी चालकलाई ती स्थल बारेको जानकारी हुनु पनि अपरिहार्य हुन्छ ।”

नेपाल पर्यटन बोर्डले लेखनाथ क्षेत्रको पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको जानकारी दिँदै थपलियाले बेगनास तालमा पर्यटकलाई लक्षित गरी २५ वटा फलामे बेञ्च राखिएको र यहाँका विभिन्न चार स्थानमा सिसीटिभी राख्ने तयारी गरिएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इलाका प्रहरी कार्यालय, डाँडाको नाकका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले यस किसिमको तालीमले ट्याक्सी चालकमा पर्यटकसँग गर्ने व्यवहार, पर्यटकीयस्थलबारेको जानकारीलगायतमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

लेखनाथ होटल व्यवसायी संघका अध्यक्ष कृष्ण तिमल्सिनाले लेखनाथमा पर्याप्त पर्यटकीयस्थल भएर पनि यिनीहरूको प्रचारप्रसार हुन नसकेको बताउनुभयो ।

सात तालको बगैँचा शहरका रुपमा परिचित लेखनाथमा रहेका सात तालका साथै विभिन्न रमणीय पर्यटकीयस्थल छन् । लेखनाथका सात तालसहित माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमशृंखला एवं पोखराको एकसाथ अवलोकन गर्न सकिने भरतपोखरीका हुँडिकोट, मल्लकालीन कोटभैरव मन्दिर, बेगनासकोट, अर्घौँ अर्चले, कालिकास्थान, सिलिङ्गेलगायतका धेरै पर्यटकीयस्थल आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com