विद्यार्थी भिसामा अमेरिका आएर ओभरस्टे हुनेमाथि कडा नीति


प्रकाशित मिति : जेष्ठ १, २०७५ मंगलबार

अमेरिकामा विद्यार्थी र एक्सचेन्ज भिजिटर भिसामा आएर ओभरस्टे हुनेमाथिको कारवाही कडा बनाउन ट्रम्प प्रशासनले नयाँ नीति लागु गर्न लागेको छ । सार्वजनिक प्रतिकृयाका लागि उक्त नीति १ महिनाका लागि वेवसाइटमा सार्वजनिक गरिएको छ ।

अमेरिकामा कानुनी रुपमा प्रवेश गर्ने तर पछि ओभरस्टे भएर गैरकानुनी रुपमा बस्ने क्रम बढेको भन्दै नयाँ नीति ल्याउन लागिएको हो । अमेरिकामा रहेका ११ मिलियन कागजपत्रविहिनहरुमध्ये झण्डै ५० प्रतिशत कानुनी रुपमा नै आएर ओभरस्टे भएको विश्वास गरिन्छ ।

नयाँ नियमले कुनै पनि व्यक्तिको अमेरिकामा गैरकानुनी उपस्थीतिलाई नयाँ तरिकाले परिभाषित गर्नेछ । पुरानो नियम अनुशार कुनै व्यक्तिले भिसाको दुरुपयोग गरेको पत्ता लागेको दिनदेखि गैरकानुनी उपस्थीतिको दिनगन्ती सुरु गरिन्थ्यो । तर नयाँ नियम अनुशार भिजिटरले जहिलेदेखि भिसाको दुरुपयोग गर्न थालेको हो, त्यो दिनदेखिकै गैरकानुनी उपस्थीति गणना गरिनेछ ।

यी दिनहरु यसकारण महत्वपूर्ण मानिन्छ कि कुनै व्यक्ति अमेरिकामा १ सय ८० दिनसम्म गैरकानुनी रुपमा बसेमा उसलाई पुन अमेरिका प्रवेशमा ३ बर्षको प्रतिबन्ध लगाइन्छ । कुनै व्यक्ति अमेरिकामा १ बर्ष भन्दा धेरै बसेमा उसलाई १० बर्षसम्मको प्रतिबन्ध लाग्छ । नयाँ नीतिबाट एफ, एम र जे भिसाबाहकहरु प्रभावित हुनेछन् ।

सन् २०१६ मा मात्र ६ लाख २९ हजारले अमेरिकामा भिसा ओभरस्टे गरेको जनाइएको छ । नयाँ नियम आगामी अगस्त ९ बाट लागु हुने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com