नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य गगन थापाले राजनीति भन्दा फरक कामको सुरुवात गरेका छन्। जुन कामको प्रशंसा समेत सुरु भएको छ। गगनले राजनीतिसँगै विद्यालयमा निःशुल्क पढाउन सुरु गरेका हुन्।
काठमाडौं क्षेत्र नम्बर ४ का सांसद थापाले शुक्रबार कुमारीगालस्थित मोक्षदा स्कुलको मञ्जरी थिएटरमा शिक्षक र अभिभावकको उपस्थितिमा कक्षा ८, ९ र १० मा अध्ययनरत झन्डै एक सय छात्रछात्रालाई देशको समग्र विषयमा पढाएका हुन् ।
गगनसँग पढ्न विद्यार्थीहरु हातमा सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकसहित कापी र कलम लिएर बसेका थिए । अगाडि स्टेजमा हातमा मार्कर र पेन बोकेर उनी ह्वाइट बोर्डमा लेखिरहेका थिए। सांसद थापाले ‘सांसदसँग विद्यार्थी’ नाम दिएर आफ्नो निर्वाचन क्षेत्रका विद्यालयमा पढाउन सुरु गरेका हुन्।
थापाले सामाजिक अध्ययन विषयभित्रका नेपालको शासन प्रणाली, संविधान, संसद्, निर्वाचन, नागरिक अधिकार र कर्तव्य, कानुनी शासन, विविधतामा एकता, राष्ट्रको समृद्धि, देश विकासका आधारलगायत विभिन्न विषयमा कक्षा सञ्चालन गरिरहेका छन्। ८, ९ र १० कक्षाका पाठ्यपुस्तकमै आधारित भई थापाले पढाएका छन्। उनले प्रश्न सोध्दै रमाइलो शैलीमा पढाएपछि विद्यार्थी पनि हर्षित भएका छन्।
सधैँ स्कुलका शिक्षक–शिक्षिकाबाटै पढ्दै आएका विद्यार्थीलाई थापाको पढाएको शैली रोचक र नौलो लागेको थियो । मोक्षदा स्कुलमा उनले झण्डै २ घण्टा कक्षा सञ्चालन गरेका थिए ।
सांसद थापाले आफ्नो क्षेत्रका विद्यार्थीलाई सामाजिक अध्ययन विषयका सीमित पाठमा आधारित भई एकदिने कक्षा लिनेगरी ‘सांसदसँग विद्यार्थी’ नामक अभियान सुरु गरेको बताए । यसबाट विद्यार्थीका साथै शिक्षक पनि लाभाम्वित हुने उनको विश्वास छ।
‘हाम्रो विद्यालय स्तरको पाठ्यक्रममा समावेश गरिएका कतिपय विषय शिक्षक र विद्यार्थी दुवैका लागि कठिन लाग्ने गरेको अवस्थामा एकसाथ शिक्षक र विद्यार्थीलाई नै बुझाउने अवसर पाउँदा खुसी लागेको छ,’ थापा भन्छन्, ‘अब विद्यार्थीको प्रतिक्रिया हेरेर यस कक्षालाई थप परिमार्जित गरी कम्तीमा पनि मेरो निर्वाचन क्षेत्रभित्रका इच्छुक विद्यालयमा समय मिलाएर सञ्चालन गर्ने योजना छ।’
मोक्षदा स्कुलका प्रिन्सिपल ठाकुर तिमल्सेनाले सांसद गगन थापाको कक्षा विद्यार्थी र शिक्षक दुबैले मनपराएको र उपयोगी रहेको जानकारी दिए।
गगनको कक्षा लिएका विद्यार्थीले पनि नेता थापाको कक्षाबाट धेरै नयाँ जानकारी पाएको र पढाउने शैली पनि मनपरेको प्रितिक्रिया दिएका छन् । ‘कक्षा निकै रोचक थियो । हामीले धेरै सिक्ने अवसर पनि पायौँ । यसमा अडियो–भिजुअल सामग्री पनि भइदिएको भए अझ राम्रो हुन्थ्यो’, एक छात्रा सुकीर्ति पराजुलीले भनिन्।