रुकुमको बजार क्षेत्रमा अटो सौर्यबत्ती, आगामी फागुनदेखि बजार झिलिमिली


प्रकाशित मिति : कार्तिक ११, २०७३ बिहीबार

रुकुमको बजारी क्षेत्रमा अटो (स्वचालित) सौर्यबत्ती जडान गरिने भएको छ । रुकुमको सदरमुकाम खलङ्गा बजार, बागबजार, सोलावाङ, सितलपोखरी, सल्ले बजार लगायतका क्षेत्रमा अटो सौर्यबत्ती जडान गरिने भएको हो ।

अटो सौर्यबत्ती जडानको लागि स्थानीय उपभोक्ता समिति गठन गर्ने प्रक्रिया सञ्चालन भएको स्थानीयबासी महेन्द्र केसीले जानकारी दिए । उनले भने, ‘उपभोक्ता समिति मार्फत जनश्रमदान जुटाउने काम भैरहेको छ ।’

सौर्यबत्ती जडानको लागि नेपाल सरकारको ६५ प्रतिशत अनुदान, मुसिकोट नगरपालिकाको १७ दशमलव ५ प्रतिशत स्थानीय बजारबासीको १७ दशमलव ५ प्रतिशत लगानीमा रकुमको बजार क्षेत्रमा सौर्यबत्ती जडान गर्ने प्रक्रिया शुरु भएको मुसिकोट नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रकान्त पौडे्लले बताए । उनले भने, ‘पहिलो चरणमा उपभोक्तासँग लगानीका बारेमा छलफल भैरहेको छ ।’ उपभोक्ताहरुले लगानी गर्न आनाकानी गरेको कार्यकारी प्रमुख पौडे्लले बताए । उनका अनुसार शुरुमा ३० ओटा सौर्यबत्ती जडान गर्ने भएपनि स्थानीयको मागको आधारमा थप सौर्यबत्ती जडान गर्ने तयारी भएको छ ।’

पहिलो पटक सञ्चालन हुन लागेको बजारमा अटो सौर्यबत्ती जडान योजनाबाट आगामी फागुन महीनादेखि रुकुमका बजारहरु झिलिमिली हुने छन् । सौर्यबत्ती जडानका लागि झण्डै एक करोड रूपैयाँ लगानी हुने मुसिकोट नगरपालिका रुकुमले बताएको छ । आर्थिक वर्ष २०७३/७४ भित्र रुकुमको सदरमुकाम लगायत आसपासको बजार क्षेत्रमा अटो सौर्यबत्ती जडान हुनेछन् । बजार क्षेत्रमा करीब ५० मिटरको दूरीमा सौर्यबत्ती राख्ने तयारी भइरहेको हो ।

स्रोत: आर्थिक अभियान

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com