सन्दर्भ भ्यालेन्टाइन्स डे : यसकारण आफैँलाई माया गर्नुस्


प्रकाशित मिति : फाल्गुन १, २०७९ सोमबार

– अनामिका यदुवंशी

आफैँलाई माया गर्नु जीवनका लागि सञ्जीवनी हो । त्यसपछि मात्र हामी अरुलाई खुलेर माया गर्न सक्छौँ । यो ‘भ्यालेन्टाइन्स डे’मा थाहा पाऔैँ, कसरी आफैँलाई माया गर्ने भनेर ।

२४ घण्टामा हाम्रो दिनको पूरा समय घर र अफिसको काम गर्दैमा बित्छ । राति सुत्ने समयमा पनि ‘भोलि के–के गर्नु छ’ भन्ने कामको हिसाबकिताब गर्दैमा बित्छ ।

तर, मुख्य प्रश्न यहाँनेर उब्जन्छ, दिनरात नभनी काम गर्दा पनि किन हामी खुसी हुन सक्दैनौँ ? तपाईं किन खुसी हुनुहुन्न ? यसकारण कि, तपाईंको हेरचाह कसैले गर्दैन, वा कसैले तपाईंलाई समय दिँदैन ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जवाफ सोच्नुपूर्व अर्को प्रश्न आफैँलाई गर्नुस्, ‘मैले स्वयं आफ्नो लागि कति समय दिएँ ?’ उत्तरमा सायद निराशा मात्र हात पर्नेछ, किनकि यो प्रश्नको उत्तर तपाईंसँग छैन । होस् पनि कसरी ? तपाईंले त आफूलाई सधैँ अन्तिममा राख्दै आउनुभएको छ । तपाईंसँग यस्तो यसकारण भइरहेको छ कि तपाईंले आफूलाई कहिल्यै माया गर्नै सिक्नुभएन ।

‘पहिले आफैँलाई माया गर ।’ यो भन्ने कुरा मात्र होइन । सबै लाइफकोच यसलाई जीवन जिउने सबैभन्दा महत्वपूर्ण र सुन्दर काइदा मान्छन् ।

अरुको माया पाउन पहिले स्वयंलाई माया गर्नुस्

‘मलाई कसैले पनि माया गर्दैन, किनकि म सुन्दर छैन, म कालो छु ।’ यस्ता कुरा सोचेर अधिकांश समय आफ्नै आलोचना गर्दै वा आफैँलाई कम महत्व दिँदैै बस्नाले यो पुष्टि गर्छ कि तपाईं स्वयंलाई माया गर्नुहुन्न । यस्तो कुरा गरेर तपाईं स्वयं आफ्नो कमजोरी मात्रै उजागर गरिरहनुभएको छैन, अपितु आफ्नो मनोबल कमजोर गरिरहनुभएको छ र आफ्नो सोच र विचारमा नकारात्मकतालाई बढावा दिइरहनुभएको छ ।

विशेषज्ञ पनि मान्दछन्, जब हामी स्वयं आफ्नै आलोचना गर्छौं या हरेक समय नकारात्मक सोच्छौँ, हाम्रो शरीरमा तनाब बढाउने हर्माेन उत्पन्न हुन्छ र हामीमा झन् तनाब थपिँदै जान्छ ।

आफूलाई माया गर्नुको मतलब स्वार्थी हुनुपर्छ भन्नेचाँहि होइन । बरु आफ्नो ख्याल र माया आफैँ गर्नुपर्छ भन्ने हो । यदि तपाईं अरु आफूप्रति आकर्षित होऊन् र आफ्नो अस्तित्वलाई बुझून् भन्ने चहानुहुन्छ भने पहिले स्वयं आफूलाई माया गर्नुहोस् ।

खुसी हुन के गर्ने ?

तपाईंले आफ्नो परिवारलाई दिएजति नै माया त्यसको बदलामा पाइरहनुभएको छैन भने दुःख लाग्नु स्वाभाविक नै हो । तर, यहाँनेर यो पनि त जायज छ, जब तपाईं आफैँलाई माया गर्नुहुन्न भने तपाईंलाई अरुले कसरी माया गर्लान् । सर्वप्रथम आफैँसँग खुसी हुनुपर्छ । मनलाई सम्झाएर हरबखत अरुका लागि गर्नाले बिस्तारै हीनताबोधको भावना उत्पन्न हुँदै जान्छ ।

जब तपाईं आफू खुसी हुनुहुन्छ, तपाईं हरेक सम्बन्धमा खुसीको रंग देख्न सुरु गर्नुहुन्छ । जब तपाईं हरेक सम्बन्धमा रंग देख्न थाल्नुहुन्छ, त्यसपछि तपाईंलाई आफैँ खुसी मिल्छ ।

आफूमाथि भरोसा राख्नुस्

आफूमा भरोसा राख्नुको मतलब हो, आफ्नो आत्मविश्वास बढाउनु । जति धेरै आत्मविश्वास, त्यति नै कम गल्ती । केही गल्ती भैहाल्यो भने पनि गल्तीबाट सिकेर आगामी दिनमा राम्रा गर्ने प्रयास गरिन्छ । एकचोटि आफूमाथि भरोसा गर्न सुरु गरेपछि आफ्नो सामथ्र्यको १० गुणा भार पनि लिएर लक्ष्यतर्फ पाइला चाल्न सुरु गरिन्छ ।

के हो तपाईंको पहिचान ?

आफूलाई प्रेम गर्नुको एउटा मतलब यो पनि हो कि तपाईं रुपले जस्तो हुनुहुन्छ, त्यसैलाई स्विकार्नु । संसारमा सुन्दर मान्छेको कमी छैन, तर यसको मतलब यो होइन कि तपाईं आफ्नो तुलना अरुसँग गर्नुस् ।

सुन्दर शारीरिक रुपले मात्र भइँदैन, यसमा तपाईंको ज्ञान, सोच, विचार, बुद्धिमता आदि–इत्यादिको दायरा पनि पर्छन् । आफ्नो व्यक्तित्वलाई सन्तुलित बनाइराख्नुपर्छ । यसले तपाईंको आत्मविश्वास बढ्छ । कसैलाई आदर्श बनाउनुस्, तर उसैको सिको गर्नुको साटो उसबाट प्रेरित भएर आफ्नो छुट्टै पहिचान बनाउन प्रयास गर्नुस् ।

आफूलाई पनि ‘गुड मर्निङ’ विस गर्नुस्

तपाईं बिहान उठ्दा सबैलाई नमस्कार, गुड मर्निङ भन्नुहुन्छ होला, तर के तपाईंले आजसम्म आफैँलाई ‘मुड मर्निङ’ भन्नुभएको छ । सायद, आजसम्म भन्नुभएको छैन । थाकेको मनले दिन सुरु गर्नुको मतलब हुन्छ, आफ्नो ऊर्जा कम गर्नु । यस्तो अवस्थाबाट दिन सुरु गर्दा कसरी जीवनमा नयाँ गर्नेबारे सोच्न सक्नुहोला ?

जीवनमा केही नयाँ गर्न मन छ भने बिहान उठ्दा सर्वप्रथम ऐनामा आफ्नो अनुहार हेर्नुस् र आफैँलाई ‘गुड मर्निङ’ भन्न सुरु गर्नुस् । सोच्नुस् कि तपाईंको आज विशेष हुनेवाला छ । आफ्नो हरेक दिनलाई एक नयाँ र विशेष दिन मान्नुहोस् ।

खानपिनमा विशेष ध्यान दिनुस्

आफूलाई माया गर्ने मान्छेहरु शारीरिक र मानसिक रोगबाट टाढा हुन्छन् । यो यसकारण कि, आफूलाई माया गर्नेहरु खानपिन र स्वस्थ्यमा धेरै सजग भएको पाइन्छ । यो तपाईंको शरीर हो । त्यसैले, यसको हेरचाह गर्ने जिम्मेवारी पनि तपाईंकै हो ।

ठीक समयमा ठीक र सन्तुलित खाना जति तपाईंको परिवारको लागि आवश्यक छ, त्यति नै आफ्नो लागि पनि छ भनेर बुझ्नुपर्छ । बचेको खानु, समय मिल्दा खानु, आफूसँग यसो गर्दा तपाईंले के सोच्न आवश्यक छ भने तपाईंको शरीर कुनै मेसिन होइन, जतिवेला जे दिए पनि हुने र सहजै पचाउन सक्ने । अस्वस्थ खाने बानी र खानेकुराले शरीरलाई हानि गर्छ र विभिन्न रोग देखिन थाल्छन् ।

फिट रहनुस्, स्मार्ट बन्नुस्

सबै उमेरमा आफूलाई फिट र सुन्दर बनाइराख्नु तपाईंको प्राथमिकता हुनुपर्छ । स्मार्ट रहनाले सकारात्मक इनर्जी प्राप्त हुन्छ । पहिरन, रहनसहन र खानपिनमा सन्तुलन बनाइराखेर तपाईं आफूलाई फिट राख्न सक्नुहुन्छ । स्पा, फेसियल ट्रिटमेन्ट, मेडिटेसन र योग गर्नु पनि आवश्यक छ ।

यी सबै कुराका लागि समय व्यवस्थापन गर्न सिक्नुस् । २४ घण्टामा केही समय यी कुराका लागि पनि छुट्याउनुस्, यस्ता कुराको लागि समय दिनु भनेको आफ्नो लागि उपहार दिनु हो ।

आफूलाई सधैँ अपडेट गराइरहनुस्

आफूमा हरेक दिन केही न केही सिक्ने भोक जगाउनुस् । सूचना नै हतियार हो । यो तपार्इंको आफ्नो विकासका लागि जरुरी छ । युट्युबबाट केही सिक्ने, मोटिभेसनल कुराहरु सुन्ने या पढ्ने, केही नयाँ कोर्स गर्ने, प्रविधिसँग सम्बन्धित नयाँ कुरा जान्ने, देशविदेशका खबर बुझ्ने, यी सबै कुराले तपाईंको ज्ञान र बुझ्न सक्ने कुराको दायरा फराकिलो बनाउन सहयोग गर्छ । यसो गर्दा तपाईंलाई मान्छेले आदर गर्न थाल्छन् ।

सोसल मिडियाबाट प्रभावित नहुनुस्

कहिलेकाहीँ फेसबुक वा इन्स्टामा आफ्नो साथीले हालखबर सोध्दा पनि तनाब भएको होला । अनुसन्धानमा यो पाइएको छ कि, सोसल मिडियाले डिप्रेसन बढाउने काम गर्छ । वास्तवमा सोसल मिडियामा अरुका कुरालाई हेरेर आफ्नो तुलना गर्नबाट बच्नुपर्छ । तपाईंको यात्रा तपाईं स्वयंको मात्र हो । फगत् तपाईंको । आफूले प्राप्त गर्न चाहेको र आफूले निर्धारण गरेको कुरालाई सधैँ ध्यानमा राखेर मिहिनेत गर्ने हो भने जीवन आफैँ सफल र सरल हुँदै जान्छ ।

आफ्नो मूल्यांकन गर्नुस्

आफूलाई माया गर्नेहरु आफूले गरेको कामको मूल्यांकन गर्छन् र केही कमी–कमजोरी पाएपछि स्वीकार गर्दै आफ्नो क्षमता अझ बढाउने काम गर्छन् । आफ्नो सबैभन्दा नजिकको साथीजस्तै । अप्ठ्यारो समयमा आफैसँग यस्तो व्यवहार गर्नुस्, जस्तो व्यवहार तपाईं अरु गाह्रो समयमा हुँदा सहानुभूति दिएर गर्नुहुन्छ ।

जसरी आफ्ना साथी या सहकर्मीको कमजोरी थाहा पाएर पनि उनीहरुको हौसला बढाउनुभएको थियो, त्यसरी नै आफ्नो पनि हौसला बढाउने गर्नुस् । आफूमा भएको अनेकौँ कमजोरीका बाबजुत हौसला दिने बानीको विकास गर्नुहोस् ।

आफैँसँग गर्नुस् ‘ड्रिम डेट’

तपाईंको कुनै ठाउँ जाने वा कुनै काम गर्ने इच्छा होला । छ भने यो भ्यालेन्टाइनमा त्यो इच्छा पूरा गर्नुस् । आफूलाई गर्न मन लागेको कुरालाई प्राथमिकता दिनुस् । जुन स्टाइल तपाईं गर्न चाहनुहुन्छ, गर्नुस् । आफूलाई मन लागेको गेटअप गर्नुस्, आत्मविश्वास बढ्छ ।

आफैँलाई माया गर्नु किन आवश्यक ?

कसैले भनेको छ, ‘यदि तिमी आफैँलाई माया गर्न सक्दैनौ भने अरुलाई पनि माया गर्न सक्दैनौ ।’ यो भनाइ निकै मुनासिब छ । आफैँलाई माया गर्नु भनेको अरुलाई माया गर्न सक्ने सामथ्र्य जुटाउनु हो ।

‘त्यो स्वयं तपाईं नै हो, जसले तपाईंको जीवनको दिशा तय गर्न सक्छ ।’ भन्नुको अर्थ त्यो हामी नै हौँ, जसले आफूलाई जीवनमा के गर्न, के बन्न मन छ भनेर निर्धारण गर्छ । आफ्नो भावना, सम्बन्ध र बाँकी व्यावहारिक जीवनका लागि अरुमा निर्भर हुनु भनेको आफैँलाई कमजोर बनाउनु हो ।

यो कमजोरी पनि बिस्तारै बढ्दै जान्छ र बिस्तारै आफैसँग हीनताबोध हुन थाल्छ । कम से कम आफ्नैँ जीवनको लगाम आफ्नो हातमा भएको कुराले तपाईंको अनुहारमा गर्व देखिनेछ । यो आत्मविश्वासले तपाईंलाई हरेक दिन भ्यालेन्टाइन डे भएको महसुस गराउनेछ । र, हरेक दिन तपाईंको आत्मविश्वास बढ्दै जानेछ ।

(भारतकी प्रख्यात लाइफकोच अनामिका यदुवंशीसँग हिन्दुस्तान फिचर टिमले गरेको कुराकानीमा आधारित)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com