दुवै देशका प्रधानमन्त्रीबाट रामायण सर्किटको संयुक्तरूपमा उद्घाटन


प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरको जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको छ ।

जनकपुर विमानस्थलबाट जानकी मन्दिर पुगेका मोदीलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नुभएको हो । दुवै देशका प्रधानमन्त्रीहरुले जानकी मन्दिमा पूजा अर्चना गर्नुभएको छ । जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बससेवाको शुभारम्भ गर्नुभएको छ ।

यसपछि प्रधानमन्त्री मोदी प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाबाट बाह्रबिघा मैदानमा आयोजना हुने नागरिक अभिनन्दन कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण जनकपुरबाट शुरुभएको छ । भारतीय वायुसेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री मोदी आजे जनकपुर विमानस्थलमा अवतरण गर्नुभएको थियो । प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो ।

जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नुभएको थियो । नागरिक अभिनन्दन कार्यक्रम सकेर मोदी जनकपुरमा नागरिक अभिनन्दनपछि दिउँसो हेलिकोप्टरबाट काठमाडौंतर्फ प्रस्थान गर्नुहुनेछ । आजै प्रधानमन्त्री ओलीको उपस्थितिमा भारतीय समकक्षी मोदीलाई सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम छ । त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुनसंग प्रधानमन्त्री मोदीले कान्तिपथस्थित उपराष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुहुनेछ । त्यसपछि आजै प्रधानमन्त्री मोदी शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुनेछ ।

भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच आजै द्विपक्षीय आपसी हित सम्बन्धमा औपचारिक भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रो जनविद्युत् परियोजनाको उद्घाटनसमेत गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com