केपी ओली रक्षात्मक, मोदी आक्रामक !


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

केही साताअघि बालुवाटारमा वाम नेताहरुको बैठक बसिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको मोबाइलमा घण्टी बज्यो । फोन गरेका थिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले । फोन रिसिभ गर्दै ओली बैठकस्थलबाट एकान्ततिर गए ।

मोदीलाई नेपालमा मे २५ तारेखमा निम्त्याउने सरकारले गृहकार्य गरिरहेको थियो । तर, मोदीले आफू मे ११ मै नेपाल आउने ओलीलाई बताए । कर्णाटकको चुनाव प्रचार सकेर सीधै पटना आउँछु, अनि त्यहाँबाट जनकपुर हुँदै काठमाडौं आउँछु भन्ने प्रस्ताव मोदीले ओलीसमक्ष राखे । प्रस्ताव भन्दा पनि यो बोधार्थ जस्तो थियो ।

वाम एकता संयोजन समितिको बैठकमा प्रधानमन्त्री ओलीले गरेको ब्रिफिङ अनुसार जनकपुर हुँदै नेपाल भ्रमणमा आउँदा नेपालको सुरक्षा संवेदनशीलतामा अप्ठ्यारो पो पर्छ कि भनेर उनले प्रतिक्रिया दिएका थिए ।

तर मोदीले केही पनि हुँदैन, मैले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई दिल्लीमा नभई गुजरातमा स्वागत गरेकै हुँ भन्ने जवाफ दिएर फोनबाटै कन्भिन्स गरे ।

सहभागी एक नेताका अनुसार, वाम बैठकमा ओलीले भनेका थिए, ‘मोदीले त्यसो भनेपछि मैले पनि ठीकै छ नि भनिदिएँ, उनी जनकपुर हुँदै आउने भए ।’

ओली प्रतिरक्षात्मक

मोदीको नेपाल भ्रमणबारे प्रधानमन्त्री ओली दुईवटा प्रेसरमा परेका छन्ः एउटा त नेपालले तय गरेको मितिभन्दा अघि नै मोदी आफैंले तोकेको मितिमा भ्रमण तय गरियो, यसले गर्दा तयारीको काम हुन सकेन । रातारात बाटो पिच गर्नुपर्‍याे भने भ्रमणका एजेण्डाहरु पनि केही तयार भएनन्, अरुण तेस्रो र कृषि अनुसन्धान साझेदारी बाहेक ।

केपी ओलीमाथि परेको अर्को दबाव हो–सीधै जनकपुर आगमन र नागरिक अभिनन्दन । मोदी भ्रमणको यो कार्यतालिका स्वयं प्रधानमन्त्री ओलीलाई पनि त्यति रुचिकर लागेको थिएन तर उनले बाध्य भएर ‘हुन्छ’ भनिदिए ।

केपी ओली भारत भ्रमणमा जाँदा पनि नेपाल सरकारले कुनै तयारी गरेको थिएन । मोदीले छिटो आउनुपर्‍याे भनेर फोन गरेको गर्‍यै गरेपछि ओली दिल्ली हानिएका थिए । परिघटनाहरुलाई हेर्दाखेरि मोदीको भ्रमणमा केपी ओली रक्षात्मक र मोदी आक्रामक देखिएका छन्
मोदीले चिनियाँ राष्ट्रपतिलाई गुजरातमा स्वागत गर्नु र मोदीले जनपुरमा नागरिक अभिनन्दन ग्रहण गर्नु एउटै प्रकृतिका विषय होइनन् । मधेसमा नेपालको सुरक्षा सम्वेदनशीलता र भारतीय हस्तक्षेपको विगत सौहाद्रपूर्ण छैन । र, यसमा मोदीले नेपालको संवेदनशीलतालाई गम्भीर रुपमा लिएको भन्दा पनि खेल्न खोजेको प्रष्टै देखिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com