माथिल्लो तामाकोसीमा भारतीय कम्पनीले काम गरेन, नयाँ कम्पनी छनोटको तयारी


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

माथिल्लो तामाकोसीमा हाइड्रो–मेकानिकलको जिम्मा नयाँ कम्पनीलाई दिइने भएको छ । भारतीय कम्पनी टेक्सम्याकाले समयमै काम नगरेपछि आयोजनाले नयाँ कम्पनी छनोटको योजना अघि सारेको छ ।

तर, टेक्सम्याकासँग भएको सम्झौता तोडिने छैन । सम्झौता तोडेर नयाँ कम्पनी नियुक्त गर्दा ढिला हुने भएपछि सहायक ठेकेदारको रुपमा नयाँ कम्पनी छनोट गरिनेछ ।

हाइड्रो–मेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको ट्याक्सम्याकाले केही सामान आयोजनास्थलमा त पु¥याएको छ तर, जडान गर्न बाँकी छ । कतिपय सामान भने लगेकै छैन । टेक्सम्याकाकोे ढिलाइका कारण नै आयोजना समयमै नबन्ने र लागतसमेत बढ्न जान सक्ने देखिएको छ ।

मन्त्री र प्रधानमन्त्री आयोजना निर्माणस्थल पुगेर निर्माण छिटो सम्पन्न गर्न निर्देशन पनि दिएका छन् । तैपनि टेक्सम्याकाले काम अघि बढाएको छैन ।

आयोजना समयमै बनोस् र थप लागत पनि नबढोस् भनेर यो कम्पनीको विकल्प खोजिएको तामाकोसी हाइड्रोपावर लिमिटेडका सीईओ विज्ञान प्रसाद श्रेष्ठले जानकारी दिए ।

तामाकोसीमा इलेक्ट्रो–मेकानिकलको काम गरिरहेको एन्ड्रिजले नै हाइड्रो–मेकानिकलमा चासो चेखाएको छ ।

भारतीय कम्पनी ट्याक्सम्याकाले थोरै कामदार राखेर काम गरेका कारण हाइड्रोमेकानिकल अन्तर्गतका धेरै काम बाँकी छन् । यो आयोजनामा दुईवटा भर्टिकल साफ्ट छन् । ३ सय ७३ मिटर तल्लो भर्टिकल साफ्ट र ३ सय १० मिटर लामो माथिल्लो भर्टिकल साफ्टमा पेनस्टक पाइप जडान गर्नुपर्छ । तर, अहिलेसम्म टेक्सम्याकाले सबै सामाग्रीसमेत निर्माणस्थल पुर्‍याएको छैन ।

जबकी अहिलेसम्ममा ५० प्रतिशत काम सक्नुपर्ने हो । दुवै भर्टिकल साफ्टमा पेनस्टक पाइप जडान गरेपछि मात्र कन्क्रिटिङको काम अघि बढाउन सकिन्छ ।

कन्क्रिटिङ गर्न कम्तीमा १० महिना लाग्छ । सिभिल कन्स्ट्रक्सनको जिम्मा भने चिनियाँ कम्पनी सिनो हाइड्रोले लिएको छ । टेक्सम्याकाले समयमै काम अघि नबढाएपछि सिभिल कन्स्ट्रक्सनको काममा समेत प्रभाव पर्ने भएको छ ।

यो आयोजना ०७५ सालको असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, टेक्सम्याकाले समयमै काम अगाडि नबढाएपछि प्रभावित भएको छ । ३५ अर्ब ३० करोडमा निर्माणाधीन आयोजना चार सय ५६ मेगावाटको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com