सुन तस्कर गोरे–प्रहरी भिडियो संवाद अदालत पेश गरिने


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

साढे ३३ किलो सुन प्रकरण र मोरङ उर्लाबारीका शनम शाक्यको हत्यासँग जोडिएका ३० जना अभियुक्तको मोरङ जिल्ला अदालतले बयान लिइसकेको छ। फरारसहित ६३ विरुद्ध दर्ता गरिएको अभियोगमा ३० जनालाई अदालतमा उपस्थित गराएर बयान लिने काम सकिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए।

दुलालकाअनुसार बयान सकिएसँगै बिहीबार (आज) बाट उनीहरूविरुद्ध थुनछेकको बहस हुनेछ। सबै अभियुक्तको बयान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रहोवरमा हुनेछ। जिल्ला अदालत मोरङको ६ नम्बर इजलासमा न्यायाधीश शर्माले नै थुनछेक बहसको सुनुवाई गर्नेछन्।

पक्राउ परेकामध्ये प्रहरी अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी र प्रहरी हवल्दार अमरबहादुर थापा मगरलाई अनुसन्धान निम्ति प्रहरीले म्याद थप नगरिकन सिधै पक्राउ पुर्जी थमाएर अदालतमा उपस्थित गराएको थियो। जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले गत बुधबार अदालतमा अभियोग दायर गरेकै दिन लोहनी आएका हुन्। फरार प्रतिवादीको रूपमा नाम भएका अर्का प्रहरी हवल्दार आइतबार सिधै अदालत पुगेका हुन्।

अदालतले अभियुक्त टेकराज मल्ल ठकुरीको तीन दिन तथा प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सन्जेल र डिएसपी राउतको बयान लिन दुई दिन लगाएको थियो। मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भनिने मदनप्रसाद घिमिरे, कृष्ण भनिने नरेन्द्र कार्की र राजन कुमारसँग पनि दुई-दुई दिन बयान लिइएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com