आफूमाथि हातपात भएको भन्दै इटहरीका मेयरद्वारा प्रहरीमा उजुरी


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीमाथि हातपात गरेको आरोपमा इटहरीका तीन स्थानीयविरुद्ध बुधबार (२५ बैशाख) किटानी जाहेरी परेको छ। इटहरी–५ का सन्तोष अधिकारी, राजकुमार खड्का र इटहरी–४ का पूर्णकृष्ण श्रेष्ठविरुद्ध किटानी जाहेरी परेको हो।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कार्कीका अनुसार उनीहरूविरुद्ध मेयर चौधरीमाथि हुलहुज्जतसहित गालीगलौज गरेको आरोप लागेको छ। खड्का खेतीपैनी बचाऊ संघर्ष समितिका अध्यक्ष हुन् भने श्रेष्ठ सचिव र अधिकारी समितिका सदस्य।

भएको के थियो ?
संघर्ष समिति तथा तुलसा टोल विकास समितिको अगुुवाईमा बुधबार करिब ५० जनाको टोली इटहरी उपमहानगरस्थित मेयर चौधरीको कार्यकक्ष पुुगेको थियो। उनीहरूले बर्खा लागिसकेको हुँदा खेती खोलामा डोजर लागेर बन्द भएको अवस्थामा आफ्ना घर असुरक्षित भएको भन्दै खोला ‘क्लियर’ गर्न माग गरेका थिए।

तुलसा टोल विकास संस्थाका अध्यक्ष निलम बस्नेतका अनुसार उक्त टोलीले १४ बुुँदासहितको माग लिएर मेयर चौधरीलाई भेट्न गएको थियो। करिब १ बजेतिर कार्यकक्ष पुुगेको टोलीले मेयरलाई आफ्ना लिखित माग बुुझ्न आग्रह गरेको थियो। तर, मेयर चौधरीले उक्त टोलीको कुरा नसुनी ‘३ बजे मात्र कुरा सुन्छुु’ भन्दै हिँडेको समितिका अध्यक्ष राजकुमार खड्काले जानकारी दिए।

उनले भने, ‘हामीले आफ्ना घरछेउको खोलामा तटबन्धन लगाउन माग गर्दै खोला सफा गर्ने कार्य जारी राख्न आग्रह गर्दा उल्टै हातपातको आरोप लागेको छ।’ टोल विकासका अध्यक्ष बस्नेतले मेयर चौधरीमाथि कसैले पनि हातपात नगरेको बताए।

‘कार्यकक्षबाट चुपचाप हिँडेका मेयरलाई आफ्ना कुरा किन नसुनी हिँड्नुुभएको?’ भन्दा उहाँ प्रहरी कार्यालयतिर लाग्नुुभयो’ उनले भने, ‘त्यसपछि पीडित जनता पनि उहाँसँगै प्रहरी कार्यालयसम्म पछ्याउँदै पुुगेका हुन्, हातपातको प्रयास भएको भन्नु हास्यास्पद कुरा हो।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com