उपचाररत डा.उपेन्द्र देवकोटालाई अर्का सहकर्मीले लेखे यस्तो मर्मस्पर्शी पत्र


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

केही दिनअघि बेलायतमा उपचार गरी स्वदेश फर्किएका बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा अहिले राजधानीको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका छन् । उनलाई भेट्न जाने शुभचिन्तक र मित्रहरुको भीड लाग्ने गरेको छ ।

राष्ट्रपति विद्या भण्डारीदेखि राजनीतिक दलका शीर्ष नेताहरुले समेत डा. देवकोटाको स्वास्थ्य स्थितिबारे जानकारी लिइरहेका छन् र सहानुभूति प्रकट गरिरहेका छन् । यसैक्रममा शनिबार एकजना चिकित्सकले डा.देवकोटालाई एउटा मार्मिक र मर्मस्पर्शी पत्र लेखेका छन् ।

डा.रविन्द्र समिरले लेखेको सो पत्रमा डा. देवकोटाले यो मुलुकलाई दिएको योगदान र उनको जीवनको सार्थकतामात्र जाडेका छैनन्, डा. देवकोटाले जीउन खोजेको सार्थक जीवनको अर्थ समेत प्रष्ट्याउन खोजेका छन् ।

यस्तो डा.समिरले डा. देवकोटालाई  लेखेको पत्रः  

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रद्धेय डाक्टरसाहेब,
असीम श्रद्धा !

अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईंलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार सम्भब नभएकोले बेलायत गएको आदि … । त्यसको केहि समयपछि पारिवारिक स्रोतलाई उधृत गर्दै उहाँलाई क्यान्सर नभएको, सामान्य जांचपछि आराम गरेको जस्ता खण्डन पढ्न पाइयो । चिकित्सा बिज्ञानको विद्यार्थीको नाताले मलाइ त्यतिबेला लागेको थियो – तपाइंलाई पक्कै पनि नेपालमा उपचार सम्भब नभएको रोग लागेको छ र त्यो रोग प्राणघातक क्यान्सर नै हो । मैले बुझ्छु, हामी चिकित्सकलाई बिरामी छु भन्ने छुट छैन । बिरामी छु भन्नेबित्तिकै हाम्रो पेशा, पेशागत संस्था, हामीले हेरिरहेका बिरामी, मेडिया तथा आम जनतामा हाम्रो हैसियत ( ? ) उजागर हुन्छ ।

यति लामो समय बेलायतमा बस्दा मलाइ लागेको थियो, तपाईं सर्जरी / केमो आदिको चक्रब्युहमा हुनहुन्छ र त्यो कर्कटलाई जितेर मिठो मुस्कान छर्दै विमानस्थलमा देश र जनतालाई अभिबादन गर्दै आउनुहुनेछ । तर, विधिको बिडम्बना, बिमानस्थलबाट तपाईं एम्बुलेन्समा सुतेर अस्पताल जानुपर्यो । तपाइँ अन्तिम सत्य बोल्न बाध्य हुनुभयो, हामी निरिह भएर सुन्न बिबश भयौं ।

डा. उपेन्द्र देवकोटा नेपालको मात्र नभएर एसियाकै, अझ भन्ने हो भने विश्वकै अमूल्य गहना हो, न्युरो सर्जरीमा चम्किलो तारा हो । उ डाक्टर मात्र हैन, समाजको गहिरो अन्वेषक पनि हो, राजनीतिको गहिराइमा डुबेको व्हेल माछा पनि हो । उ स्पष्ट बक्ता हो, आफ्नो मर्जीको मालिक हो, स्वाभिमान र गर्वको शिखर हो । शायद घमण्डी पनि हो ।

आजीवन राजनीति गर्नेहरु नपुगेको टाकुरामा पुगेको खेलाडी पनि हो । नेसनल ट्रमा सेन्टर, चिकित्सा बिज्ञान प्रतिष्ठान, न्युरो अस्पताल लगायत उपलब्धिको जननी पनि हो । उ स्वतन्त्र पंक्षी हो, त्यसैले सुनको पिंजडामा नअटाएको तालचरा हो । उ हामी सबैको अनुकरण एबम इर्श्याको पात्र पनि हो ।

हामी सबै मृत्युको गन्तब्य बोकेर जन्मिएका हुन्छौं । हरेक पलपलमा मृत्युलाई जित्दै, नाघ्दै, अस्वीकार गर्दै, अटेर गर्दै ..हामीहरु उसैको गन्तब्यतिर दौडिरहेका हुन्छौं । जन्मेपछि मान्छेमात्र हैन हरेक प्राणी, बस्तु तथा सृष्टिको अन्त्य हुन्छ । जीवन निमेषमा चलेको हुन्छ भने मृत्यु असिमित आयु र अनन्त दायरामा बाँचेको हुन्छ । हाम्रो त के कुरा ? भगवान राम, कृष्ण लगायत देवता समेत मृतुन्जयी बन्न सकेनन । मृत्यु अनपेक्षित, चामत्कारिक एबम सर्वाधिक पीडादायी सत्य हो ।

दुर्घटनामा परेर, हृदयाघात भएर, मस्तिष्कघात भएर वा अन्य प्राणघातक रोगबाट पनि तपाइंको मृत्यु हुनसक्थ्यो । त्यसो भएको भए तपाइंलाई आफुले मृत्युबरण गर्दै गरेको वा गरेको समेत थाहा हुने थिएन । अहिले कमसेकम आफ्नो आयु थाहा छ, उपचार गर्न नपाएको गुनासो छैन, ब्यबहार मिलाउन नपाएको पारिवारिक पीडा छैन… ठूलो कुरा त चमत्कारको आशा छ । यो संसारमा लाखौं यस्ता रोगहरु छन् जसलाई चिकित्सा बिज्ञानले अहिलेसम्म पत्ता लगाएको छैन, लाखौँ उपचारका स्रोत छन् जसलाई चिकित्सा विज्ञानले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

आशा अझै बाँकी छ ! सम्भावनाको दियो निभेको छैन 

श्रद्धेय डाक्टरसाहेब । आफुलाई म मर्दैछु भन्ने कहियै नसोंच्नुहोला । हामी जो कोहि पनि मर्दैछौँ । आफुले सम्पूर्ण जीवन छोंटो समयमै भोगेकोमा गर्व गर्नुहोला । सफल, असल, सुरुचिपूर्ण र सार्थक जीवन बाँचेको मान्छेको लागि आँशु उपयुक्त बिम्ब होइन । तपाई ६३ बर्षको उमेरमा पनि सय बर्षको अनुभव लिन सक्नुभयो, सय बर्षको योगदान दिन सक्नुभयो – यो नै तपाइंको दिर्घायु हो । तपाई यस्तो उचाइमा पुगेको व्यक्ति हो जसको लागि ओर्लनुको बिकल्प थिएन । तर तपाईंलाई बिकल्पको स्वर्ण अवसर प्राप्त भयो । अनिच्छापूर्वक बिश्रामको बाध्यतामा पर्नु जस्तो ठूलो उपलब्धि केहि हुँदैन ।

यहाँ स्वयम् गहन अध्येता पनि हो तसर्थ मैले स्टेफेन हकिंगदेखि जगदीश घिमिरेको उदाहरण दिनु आवश्यक छैन । दुईबर्षे आयुको ग्रेस थपेर घर फर्किएका जगदीश घिमिरेले अन्तर्मनको यात्रा नलेखेको भए एकबर्ष पनि उनको लागि टाढाको कुरा हुन्थ्यो, आत्मबल र गन्तब्यको क्रेजले उनी ८ बर्ष सक्रिय जीवन बाँचे ।

त्यति मात्र हैन, जमराको रस तथा खुर्पानिको बिउ खाएर क्यान्सर जितेका धेरै व्यक्तिहरु हाम्रो समाजमा छन् । स्वमुत्रपानले समेत क्यान्सरलाई ढालेका मुक्केबाज पूर्वमन्त्रि गणेश शाह लगायत व्यक्तिहरु हाम्रो समाजमा अझै सक्रिय छन् ।

तसर्थ एक रति पनि हार नखानुहोला । आफुले गरेको संघर्ष, देखेको संसार, भोगेका पल एबम त्यो अद्भुत क्षमताको रहश्यलाई जस्ताको तस्तै लेखेर हाम्रो अनि भविष्यको पुस्तामा बाँचिरहने उपयुक्त अवसर प्राप्त भएको छ, यहाँलाई । गन्तब्यको सिमा भएको अवस्थामा लेखाइभन्दा ठूलो थेरापी अरु केहि हुँदैन ।

३० बर्षको अल्पायुमा निधन भएका मोतीराम भट्ट, ४३ बर्षको अल्पायुमा निधन भएका भैरब अर्याल, ४२ बर्षमा निधन भएका मदन भण्डारी वा कलिलो उमेरमा क्यान्सर भएर पनि राजनीति तथा साहित्यमा क्यान्सरको छायाँ पर्न नदिएका बिपी कोइराला …उहाँहरु जीवितै हुनुहुन्छ त !

तपाईं अस्पतालमा बसेर ‘ कठै ‘ को पात्र बन्नुहुँदैन । आफ्ना र अरुका आँशुको द्रष्टा तथा भोक्ता बन्नुहुँदैन । यो कार्यले आत्मबलको घोडालाई लगाम लगाउँछ । तपाईं आफ्नो जन्मस्थान जानुहोस, एकपटक रारा ताल पुग्नुहोस, सगरमाथाको बेसक्याम्प पुग्नुहोस अनि यो स्वर्गको कुनै टुक्रामा बसेर आत्मकथा लेख्नुहोस । आधुनिक बिज्ञानले दिएको एक्सपायर डेटलाई खारेज गरेर यस्ता साधकको भर पर्नुहोस जसले संजीवनीबुटी, हिमाली जल, प्राणी उत्पादन आदि प्रकृतिको प्रयोग गरेर कहिल्यै नमर्ने महर्षी बनाउन सकुन ।

त्यो सम्भब छ । कुनै पनि कुरा बिकल्पबिहिन हुँदैन भने बिकल्पको प्रयोग किन नगर्ने ? के थाहा ? पित्तथैलीको क्यान्सरलाई सारौँको पित्तले पो निर्मुल गर्छ कि ? प्रकृतिलाई बचाइरहेको हिमाली जडिबुटीले तपाईलाई नबचाउनुको कुनै कारण छैन । यो भूमि पातपातमा अमृत रस भएको भूमि हो अनि तन्त्र, मन्त्र, पुजा, तीर्थाटन, भजनजस्ता अनेकौं दैवी चमत्कार भएको भूमि हो । योग र ध्यानले आफ्नो समाधि तय गर्ने ऋषि जन्मेको यो पवित्र भूमिमा उपचारको कुनै कमि छैन, कमि छ त हाम्रो विश्वासको । तसर्थ प्रयत्नले छोड्नुअघिं हामीले प्रयत्नलाई छोड्नुहुँदैन ।

अहिले तपाईं साँच्चै सर्वाहारा हुनुभएकोछ । जित्नलाई संसार छ, हार्नलाई केहि छैन । तपाइंको साथमा हामी करोडौं जनता छौं । हामीहरु तपाईको दीर्घजीवनको लागि मुटुभित्र दीप बालेर प्रार्थना गरिरहेका छौं । डा. देवकोटा ! उठ्नुहोस् , हिड्नुहोस् अनि बिज्ञानभन्दा पर रहेको ज्ञानमा आफुलाई समर्पित गर्नुहोस । जहाँ बिश्वासले धोका दिन्छ त्यहाँ अन्धविश्वासले साथ दिन्छ । प्रेमको उत्कर्ष अन्धोप्रेम भए झैं विश्वासको उत्कर्ष अन्धविश्वास हो ।

तपाइंलाई आफ्नो आयुको २० बर्ष उमेर दिन तयार प्रशंशक
रवीन्द्र समीर
लेखक / जनस्वास्थ्य बिज्ञ

रातोपाती

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com