KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

दाइजो छल्न बालविवाह

प्रकाशित मिति : कार्तिक ८, २०७३ सोमबार

ठूलो भएर विवाह गर्दा दाइजो धेरै चाहिने र पढेलेखेका छोराछोरी बिग्रन्छन् भनेर पूर्वीतराईका विशेषतः दलित समुदायका अभिभावक सानै उमेरमा आफ्ना सन्तानको विवाह गरिदिन रुचाउँछन् ।
 विराट अनुपम
सुनसरी । सुनसरीको दुहबिभलुवा नगरपालिकाको श्री निम्न माविमा २६ साउन ०७३ बाट नाट्य कार्यशाला सुरु भयो । मधेसी दलित बाहुल्य बस्ती रहेको नगरपालिकाको १२, १३ र १४ वडाका दुई दर्जन किशोरकिशोरी कार्यशालामा सहभागी भए । १५ दिनसम्म कार्यशालामा बसेर नयाँ नाट्य जमात स्थापन गर्ने कार्यशालाको लक्ष्य छ । नाट्य अभियानमा सहभागी अधिकांश किशोरकिशोरी नयाँ कुरा सिक्न र व्यक्तित्व निर्माणमा सरिक हुन यहाँ आएका थिए । कार्यशालामा स्थानीय कविताकुमारी पासवान र जानकी ऋषिदेवको पनि सहभागिता थियो । यी दुई किशोरी घर र आफन्तबाट आएको बिहे गर्ने प्रस्तावलाई नाट्य कार्यशालाको वहानामा टार्न यहाँ आएका थिए ।

स्थानीय बाल क्लबमा आबद्ध भएर सामाजिक काममा लागेका उनीहरू दुवैले हालसालै प्रवेशिका परीक्षा पास गरेका छन् । १८ वर्षको उमेर भर्खरै टेकेका दुवै किशोरी अध्ययन सक्न चाहन्छन् । दुवैजनाको अध्ययन सकेर जागिर गरेपछि मात्रै विवाह गर्ने सोच छ । परिवारको चाहिँ चाँडै विवाह गर्न पाए छोरीको भविष्य बन्छ भन्ने बुझाइ छ । ‘बुबाआमा अब बिहे गर्नुपर्छ नत्र तँैले घरमा बस्न पाउँदिनस् भन्नुहुन्छ । मलाईचाहिँ २३ वर्ष पुगेपछि मात्रै बिहे गर्न मन छ,’ जानकीले भनिन् ।

कविताकुमारीकी आमाले पनि उनलाई ८ कक्षा पढेदेखि नै विवाह गर्न दबाब दिइरहेकी छिन् । उनी भन्छिन्, ‘आज पनि केटा हेर्न आउने भन्ने सुनेर यहाँ आएकी हुँ । दिनदिनै बिहेको कुरा आउँछ । बिहे गरिदिन पाए पुण्य पाइन्छ भन्नुहुन्छ आमा ।’ चाँडै छोरीको विवाह गर्न चाहने जानकी र कविताकुमारीका परिवार मात्रै होइन दुहबिभलुवा नगरपालिकाका अधिकांश अभिभावक यही चाहन्छन् ।

खासगरी दलित समुदायमा यस्तो परिपाटी छ । दलित विकास समाज दुहबिभलुवाकी सदस्य अङ्गीता पासवानका अनुसार मधेसका आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका दलित र सीमान्तकृत समुदायमा बालविवाह व्यापक छ । तत्काल राम्रो रोजगारी र सशक्त सामाजिक अभिमुखीकरण नभई यो हट्ने सम्भावनासमेत छैन । ‘पहिलेपहिले चौधरी र तराईका अन्य समुदायमा भएको यस्तो चलन आजभोलि दलित समुदायमा छ,’ उनी भन्छिन्, ‘बालविवाह रोक्न पटकपटक पहल भइरहेको छ । यसले थोरै परिवर्तन त ल्याएको छ । तर, मसँग धेरै मान्छे रिसाएका छन् ।’

नाट्य कार्यशालामा सहजीकरण गरिरहेका युवा नाट्य निर्देशक सोनु जयन्ती तराईको दलित समुदायमा सानैमा विवाहको मुख्य कारण आर्थिक दुरावस्था र सामाजिक प्रचलन रहेको बताउँछन् । मधेसलाई नजिकबाट बुझेका निर्देशक जयन्ती भन्छन्, ‘यहाँ जति सानो उमेरमा छोरीको विवाह ग¥यो त्यति सहज हुने बुझाइ छ । उमेर ढल्केपछि छोरीलाई नपत्याउलान् भनेर पनि चाँडो विवाह गर्ने चलन रहेछ ।’

ठूलो भएर विवाह गर्दा दाइजो पनि धेरै चाहिने र पढेलेखेका छोराछोरी बिग्रन्छन् भनेर पनि अभिभावकले सानै उमेरमा आफ्ना सन्तानको विवाह गरिदिने गर्छन् । विवाहको कुरा चलिरहेका आफ्ना दुई विद्यार्थी जानकी र कविताकुमारीले नाट्य कार्यशालामा आएर भए पनि विवाहको प्रसङ्ग छल्न खोजेको बताउँदै निर्देशक जयन्ती नाट्य कार्यशालापछिको अवस्थाबारे केही आशावादी पनि छन् ।

पूर्वका यी लोकप्रिय नाट्य निर्देशक भन्छन्, ‘नाट्य कार्यशालाले किशोरकिशोरीलाई आफूले भोगेको पीडा नाटकमार्फत समाजमा लाने र सामाजिक सचेतना फैलाउन सजिलो बनाएको छ । कविताकुमारी र जानकीले पनि यस कार्यमा साथ दिनेछन् र समाजमा सडकनाटकमार्फत बालविवाह रोक्न चेतना फैलाउने काम हुनेछ ।’

संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) को तथ्याङ्कअनुसार २० वर्षदेखि ४९ वर्ष उमेर समूहका आधा विवाहित महिलाको विवाह १८औँ जन्मदिन अगावै भएको देखिन्छ । युनिसेफकै अर्को तथ्याङ्कअनुसार नेपालका कुल विवाहित महिलामा ४० प्रतिशतको विवाह त १५ वर्ष नपुग्दै भएको देखिन्छ । यौन स्वास्थ्य, प्रजनन स्वास्थ्य र सन्तानहरूमा समेत घातक असर पर्ने हुँदाहुँदै पनि नेपालमा वर्षेनी हजारौँको कम उमेरमै विवाह हुने गर्छ ।

अभिभावकको सल्लाहमा १८ वर्ष पूरा भएपछि र आफ्नो इच्छाले २० वर्ष पूरा भएपछि मात्रै विवाह गर्न पाइने कानुनी प्रावधान रहे पनि अझै नेपालमा यो पूर्ण रूपमा लागू हुन सकेको छैन । बालविवाह गर्नेलाई कारबाही हुने व्यवस्थासमेत कानुनमा छ । बालविवाह गर्नेलाई १० हजार जरिवाना र तीन वर्षसम्मको कैदको हुन्छ । यस्तो कानुनी व्यवस्था र सामाजिक अभियानको कारण पछिल्लो १ दशकमा नेपालमा १० प्रतिशत बालविवाहमा कमीसमेत आएको देखिन्छ ।

कानुनको पूर्ण पालना नभएरै होला नेपालले तत्काल बालविवाह अन्त्य गर्ने सम्भावना देखेको छैन । त्यसैले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य पूरा गर्न नेपालमा ६ महिना पहिले प्रथम किशोरी सम्मेलनसमेत सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको तथा बेलायतका राजकुमार ह्यारीसमेत अतिथि रहेको सम्मेलनले बालविवाह, चाँडो विवाह र जबर्जस्ती विवाह अन्त्य गर्ने प्रण गरेको थियो । किशोरी सम्मेलनले विभिन्न पाँच सङ्कल्प सार्वजनिक गरेको थियो । जसअन्तर्गत बालविवाहलाई अस्वीकार्य सामाजिक प्रचलन मान्दै कानुनी कारबाही गर्ने, बालविवाह अन्त्य गर्न किशोरकिशोरीले काँधमा काँध मिलाएर सहकार्य गर्नेलगायतका सङ्कल्प थिए ।

चाँडो विवाह, बालविवाह र जबर्जस्ती विवाह रोक्न राजधानीमा सामाजिक सङ्घसंस्था, सरोकारवाला निकाय र सरकारी निकायहरूबाट सङ्कल्प गरिसकेको अवस्थामा पनि अझै समाजमा यस्ता प्रचलन जारी छन् । जसको प्रत्यक्ष पीडामा छन् कविताकुमारी पासवान र जानकी ऋषिदेवहरू । उनीहरू पढ्न चाहन्छन् । परिवार विवाह गर्न चाहन्छ । उनीहरू परिपक्व बन्ने सोचमा छन् । अझ जागिर सुरु गरेर केही वर्षपछि मात्रै विवाह गर्ने पक्षमा छन् उनीहरू । तर, उनीहरूको परिवार यसको विपक्षमा छ ।
(सञ्चारिका फिचर सेवाबाट)(विराट, सुनसरीका पत्रकार हुन् ।)

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com