जिल्ला अस्पताल प्युठानमा सुत्केरीको मृत्यु, अस्पतालमा तोडफोड


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

जिल्ला अस्पताल प्यूठानमा सुत्केरी हुन आएकी एकजना सुत्केरी महिलाको गएराति मृत्यु भएको छ । मंगलबार बिहान जिल्ला अस्पताल प्यूठानमा भर्ना भएकी प्यूठान नगरपालिका २ दाखाक्वाडी निवासी बर्ष २५ की राधिका धामीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । उनको मृत्य भएलगत्तै आक्रोशित मृतकका आफन्तहरुले अस्पताल तोडफोड गरेका छन् ।

मंगलबार बिहान सुत्केरी बेथा लागेपछि सुत्केरी हुन अस्पताल आएकी उनको सामान्य अबस्थामा सुत्केरी हुने नसक्ने  भएपछि दिउँसो बाह्र बजे अप्रेसन गरि बच्चा निकालिएको थियो । अप्रेसन गरेको करिव सात घण्टा पछि सुत्केरीको मृत्यु भएको बिरामीको आफन्त उर्मिला थापाले बताइन् । डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आफन्तको आरोप छ ।

यता जिल्ला जनस्वास्थ्य अधिकृत बिशाल सुवेदीले अप्रेसनपछि २४ घण्टासम्म केहि खान नदिनु भन्ने डाक्टरको सुझावलाई वास्ता नगरी  आफन्तले पानी खुवाएको कारण सुत्केरी महिलाको मृत्यु भएको  बताए ।

बिरामीको आफन्तहरुले भने डाक्टरहरुको लापारबाहिका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन् ।

अप्रेसन थ्रिएटरमै तोडफोड गर्न सुरु गरेपछि अस्पतालमा कडा सुरक्षा ब्यवस्था मिलाईएको प्यूठानका प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com