भारतीय प्रधानमन्त्रीको स्वागतलाई लिएर प्रदेश र संघीय सरकारबीच किचलो


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

भारतीय प्रधानमन्त्री मोदीको स्वागत कस्ले गर्ने भन्ने विषयमा प्रदेश र संघीय सरकारबीच किचलो, मोदीको स्वागतमा प्रदेश दुई सरकार सक्षम रहेको दावी
धनुषा । सन्दर्भ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ।

जनकपुरमार्फत नेपाल प्रवेश गर्ने तयारीमा रहनु भएका मोदीको स्वागत प्रदेश दुई सरकारले गर्ने कि केन्द्र सरकारले गर्ने भन्ने बारेमा दुई सरकारबीच किचलो देखिएको छ ।

प्रदेश दुई सरकारले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई लिएर स्वागतको तयारी सुरु गर्दा केन्द्रीय गृहमन्त्री रामबहादुर थापाले जनकपुर पुगेर तयारी थालेपछि यो किचलो उत्पन्न भएको हो ।

मोदी वैशाख २८ गते भारतको विहारको पटनाबाट सिधै जनकपुर आउने कार्यक्रम तय भएपछि प्रदेश सरकारले भौतिक तथा यातायात मन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गर्दै तयारी तीव्र पारेको छ ।

बाह्रविघा रंगभूमि मैदानमा स्वागत तथा अभिनन्दनका लागि मञ्च निर्माणको काम अगाडि बढाएको छ । तर सुरक्षा अवस्थाबारे जनकपुरमा अवलोकन गर्दै गृह मन्त्री थापाले मोदीको स्वागत, अभिनन्दन तथा सुरक्षाको सम्पूर्ण जिम्मा केन्द्र सरकारले गर्ने भनेपछि प्रदेश र केन्द्र सरकारबीच किच्चलो देखिएको हो । यद्यपी, केन्द्र सरकारसंग सहकार्य गरेर अगाडि बढ्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको भनाई छ ।

भारतको विहार, पटनाबाट हेलिकप्टर चढेर सिधै जनकपुर आउने कार्यक्रम छ । मोदीले जानकी मन्दिरमा विशेष पूजा समेत गर्ने र बाह्रविघामा उहाँलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत तय भएको छ । त्यसपछि मोदी यतैबाट मुक्तिनाथ जाने कार्यक्रम रहेको गृहमन्त्री थापाले जानकारी दिनुभयो । मोदीको भ्रमणको सम्पूर्ण जिम्मेवारी केन्द्र सरकारले गर्ने समेत उहाँको भनाई छ ।

मोदीको भ्रमणलाई ध्यान दिई सुरक्षा अवस्था थप सुदृढ बनाउन जनकपुर स्थित सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्री थापाले निर्देशन समेत दिनुभएको छ ।
यता, मञ्च निर्माण स्थलमा जुटेका मन्त्री सोनल गृह मन्त्री थापा प्रति आक्रोशित बन्दै प्रदेश सरकार मोदीको स्वागतका लागि सक्षम रहेको दावी गर्नु भएको छ । प्रदेश र संघीय सरकारबीचको दुरी र दायरा , अधिकार र अस्तित्वलाई लिएर मिलाउन धेरै विषय बाँकी छन् । तर यही विषयलाई लिएर विवादको विजारोपण प्रदेश दुईबाट सुरु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com