विद्युतीय हाजिरीको व्यवस्था गरेपनि सरकारी अस्पतालमा डाक्टर नभेटिने समस्या बढ्दो


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

पछिल्लो समय सरकारी अस्पतालमा बिशेषज्ञ चिकित्सकहरु त्यति नभेटिने समस्या बढ्दो छ । त्यसो त काठमाडौंकै अधिकांश सरकारी अस्पताल रेजिडेन्ट डाक्टर कै भरमा चलेको छ भन्दा फरक पर्दैन । सबै त होइन तर अधिकांश सरकारी अस्पतालको बिशेषज्ञ चिकित्सकहरुको हाजिरी हेर्ने हो भने पनि त्यो छर्लंग हुन्छ ।

नेपालको केन्द्रीय बाल अस्पताल कान्ति अस्पताल पुग्ने हो भने बिशेषज्ञ चिकित्सक भेट्न मुस्किल पर्छ । त्यसो त चिकित्सक बाहेकका अन्य कर्मचारी पनि अस्पताल पूरा समय बस्दैनन् भन्ने गुनासो अस्पताल प्रसासन कै छ । कान्ति बाल अस्पतालले आन्तरिक नियन्त्रण प्रणालीलाई सुधार गर्न भन्दै २०७२ साल साउन देखि विद्युतीय हाजिरीको व्यवस्था सुरु गरेको थियो । तर चिकित्सक तथा कर्मचारी बर्गमा त्यसको खासै ठूलो प्रभाव देखिएको छैन ।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले विद्युतीय हाजिरीको व्यवस्था गरेपनि कान्ति बाल अस्पतालका कतिपय चिकित्सकलाई तोकिएको समयभर रोक्न नसकिएको संकेत गरेको छ । लेखापरीक्षणको क्रममा महालेखाले गत असार महिनामा ८० जना चिकित्सकको विद्युतीय हाजिरी विवरण विश्लेषण गरेको थियो । सो क्रममा ११ जना चिकित्सकले अस्पताल आएको समय जनाएको तर गएको समय उल्लेख गरेका थिएनन् । ३१ जना चिकित्सकले महिनामा १५ दिन भन्दा कम दिन मात्रै गएको सयम उल्लेख गरेको पाइएको थियो ।

एक महिनाको हाजिरी विवरण विश्लेषण गर्दा यस्तो देखेको महालेखाले प्रतिवेदनमा सरकारी अस्पतालका कर्मचारी र चिकित्सकहरु तोकिएको समय अस्पतालमा रहेरै सेवा दिन्छन् भन्नेमा विश्वस्त हुने अवस्था नदेखिएको जनाएको छ । त्यसो त सरकारी चिकित्सकहरु पूरा समय असपताल बस्ने नगरेको कान्ति मात्रै होइन । देशभरका अधिकानस सरकारी अस्पतालका अधिकांस विशेषज्ञ चिकित्सक पूरा समय नबस्ने गरेको अस्पताल प्रसासन कै गुनासो छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com