नेपाल राष्ट्र बैंकसँग मात्रै पौने ५ खर्ब बराबरको कागजी नोट मौज्दात


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

नेपाल राष्ट्र बैंकसँग मात्रै पौने ५ खर्ब बराबरको कागजी नोट मौज्दात छ । मौज्दात रहेको नोटले आगामी साढे तीनबर्षको माग धान्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले आगामी साढे तीन बर्षका लागि पुग्ने पौने ५ खर्बको कागजी नोट मौज्दात रहेको दावी गरेको छ । गत साताको शुक्रबारसम्ममा ४ खर्ब ७९ अर्ब ७५ करोड रुपैयाँ कागजी नोट चलन चल्तीमा रहेको छ । राष्ट्र बैकका विभिन्न ७७ वटा नोट कोषमा ५२ अर्ब रुपैयाँ नोट मौज्दाज रहेको छ ।

१ रुपैयाँ दरका १६ करोड, दुई रुपैयाँ दरका ९२ लाख, ५ रुपैयाँ दरका ४ अर्ब थान नोट रहेको राष्ट्र बैकको तथ्यांकमा रहेको छ । त्यस्तै, १० रुपैयाँ दरका ३७ करोड, २० रुपैया दरका २३ करोड, २५ रुपैया दरका २२ लाख, ५० रुपैयाँ दरका १७ करोड थान रहेका छन् । यस्तै, १ सय दरका १७ करोडथान २ सय ५० दरका ३४ करोड, पाँच सय दरका १९ करोड र १ हजार दरका ३ अर्ब थान कागजी नोट रहेको राष्ट्र बैंकले जनाएको छ ।

कम्तिमा तीनबर्ष ३ महिनासम्म धान्ने नोटको स्टक राख्ने नीतिगत व्यवस्थाअनुसार २०७४ बैशाखदेखि चैतसम्ममा विभिन्न दरका १ खर्ब ३१ अर्ब ५६ करोड बराबरको ७८ करोड ७६ लाख थान नयाँ नोट बैंकमा भित्रिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले हालैमात्र ५ सय दरका १८ करोड थान नयाँ नोट निष्काशन गरी चलनचल्तीमा ल्याएको छ ।

राष्ट्र बैंकसँग एक र दुई रुपैयाँ दरका २१ करोड ३८ लाख ८५ हजार रुपैयाँ सिक्का मौज्दात छ । बैंकले झुत्रा तथा मैला नोटलाई बजारबाट खिचेर धुल्याउने समेत काम गर्दै आइरहेको छ । गत आर्थिक वर्षमा मात्रै २५ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी नोट बजारबाट खिचेर धुल्याएको छ । नेपाली नोटहरूको आयु औसतमा पाँच वर्षमात्र रहेको नोट छपाइ चक्रले देखाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com