ह्वाइट हाउसबाट बिरुवा गायब


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई उपहार दिएको बिरुवा अचानक गायब भएको छ।

उत्तर-पूर्वी फ्रान्समा प्रथम विश्व युद्धको लडाइँ भएको एउटा स्थानबाट ल्याइएको त्यो बिरुवालाई गत साता ट्रम्प र माक्रोँ मिलेर ह्वाइट हाउस प्राङ्गणमा रोपेका थिए।

माक्रोँले त्यो बिरुवा “दुई देशबीचको सम्बन्धको प्रतीक” हुने बताएका थिए।

तर रोयटर्स समाचार संस्थाका एकजना फोटो पत्रकारले शनिवार त्यस क्षेत्रमा पहेँलो घाँस मात्र देखिएको एक तस्वीर खिचेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘सेसील ओक’
ह्वाइट हाउसको दक्षिणतिर त्यो स्थानमा दुई राष्ट्रपतिले बिरूवा रोपेका थिए।

युरोपेली ‘सेसील ओक’ नामक खस्रु जातको त्यो बिरुवा सन् १९१८ मा युद्ध भएको फ्रान्सको बेलो वुडबाट ल्याइएको थियो।

त्यहाँको लडाइँमा करिब २,००० अमेरिकी सैनिकको ज्यान गएको थियो।

तर त्यो लडाइँको सम्झनामा रोपिएको बिरुवा केही दिन नबित्दै हराएको छ।

अनुमान
बिरुवा हराउनुको कारणबारे अधिकारीहरूले केही भनेका छैनन्।

एउटा फ्रान्सेली रेडियो नेटवर्क फ्रान्सइन्फोले त्यो बिरुवा शरद् ऋतुमा उम्रने हुँदा त्यो पछि फेरि देखिन सक्ने अनुमान गरेको छ।

हफिङ्टन पोस्टले एलिसी प्यालेसका एक अधिकारीलाई उद्धृत गर्दै अहिले त्यो बिरुवा अमेरिकी क्वारेन्टिनले जाँचबुझ गरिरहेको बताएको छ।

विदेशका बिरुवा अमेरिकामा रोप्नका लागि विशेष अनुमति लिनुपर्ने नियम छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com