बागलुङको ढोरपाटनमा अवस्थित प्रसिद्ध ढोरबराह मन्दिरमा चण्डिपूर्णिमा मेला सुरु


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

 

वैशाख १७, बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ९ ढोरपाटनमा अवस्थित प्रशिद्ध ढोरबराहा मन्दिरमा चण्डिपूर्णिमा मेला सुरु भएको छ । बुद्ध जयन्ती अर्थात् वैशाख पूर्णिमाका दिनमा यस स्थानमा चण्डीपूर्णिमा मेला सुरु हुन्छ । सडक यातायात ढोरपाटनमा पुगेपछि श्रद्धालुहरुको संख्या पनि उत्तिकै बढेपछि आज ढोरपाटनमा चहल पहल पनि बढेको छ ।

हिँजैदेखि ढोरबराहाको पूजा अर्चनाका लागि ढोर पुगेको सयौँ श्रद्धालुहरु मध्य सयौँले हिँजो नै बराहा भगवान्को पूजा गरी फर्किसकेका छन् । ज्योतिषीय दृष्टिकोणले हिँजो बैशाख १६ गते चतुर्दशी तिथी थोरै मात्र रहेको र चण्डि पूर्णिमा प्रारम्भ भएकाले हिँजो अपरान्ह पछि बराहा स्थानमा १ सय ६८ भेँडाको बलि दिईएको स्थानीयले बताएका छन् । अहिले बिहान सबेरै देखी बराहा स्थानमा भेँडाको बलि दिने कार्य सुरु भएको छ । आज ३ सय भन्दा भेँडाको बलि चढ्ने स्थानीयले जानकारी दिएका छन् ।

ढोरमा अबिरल बग्ने पवित्र उत्तरगंगा नदीमा स्नान गरी प्रशिद्ध बराह भगवान्को पूजा अर्चना गरे मनोकामना पूर्ण हुने मान्यता रहि आएको छ । मनोच्छा पूरा गर्न भगवान् बराहको नाममा भाकल गर्ने र भेँडाको बलि चढाउनाले फलप्राप्ति हुने विश्वास श्रद्धालुहरुमा रहेको छ ।
ढोर बराह मन्दिरमा जनैपूर्णिमा र चण्डी पूर्णिमामा विशेष पूजा अर्चनाका साथै बलि दिएर बराह भगवान्को पूजा गरिन्छ । ऋषितर्पणी अर्थात जनै पूर्णिमामा ढोर बराह मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ ।

ढोर बराह मन्दिरमा मेला भर्न छिमेकी जिल्लाहरु म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पर्वत मात्र नभएर पछिल्लो समय मुलुकभरका श्रद्धालुहरु आउने गरेको आयोजकहरुले बताएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com