वनै खायो अफ्रिकाको झारले


प्रकाशित मिति : कार्तिक ७, २०७३ आईतबार

अफ्रिकी मुलुकबाट भारत हुँदै भित्रिएका झारले नेपालका संरक्षित क्षेत्रमा रहेका दुर्लभ वनस्पती, वन्यजन्तुको वासस्थान, आहारलाई प्रतिकूल प्रभाव पार्न थालेपछि समग्र संरक्षण अभियानमा चुनौती थपिएको छ ।

दक्षिण अफ्रिकाको जङ्गलमा पाइने माइकेनिया र उत्तर अमेरिकी जङ्गलमा पाइने पार्थेनियम नाम गरेका झार भारतको बाटो हुँदै नेपाल भित्रिएका छन् । यी झार संरक्षित क्षेत्रमा फैलिन थालेपछि संसारकै लागि दुर्लभ मानिएका वन्यजन्तु, वनस्पति र समग्र जैविक विविधताको विकास र संरक्षणमा चुनौती थपिएको हो ।

भारतको आसाम हुँदै केही वर्ष पहिले इलामका जङ्गलमा देखिएको माइकेनिया झार हाल कोशी टप्पु वन्यजन्तु आरक्ष, पर्सा वन्यजन्तु, चितवन राष्ट्रिय निकुञ्ज हुँदै नवलपरासी, कपिलवस्तु, दाङ, बाँकेका जङ्गलसम्म फैलिएको छ । उत्तर अमेरिकी जङ्गलमा पाइने पार्थेनियम झार नेपालको पूर्वदेखि बर्दिया राष्ट्रिय निकुञ्जसम्म फैलिएको छ ।

नेपालका संरक्षित क्षेत्रमा वनमारा झारले दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षणमा पारेको असरमा शोध गर्नुभएका अशोककुमार रामका अनुसार निकुञ्ज र आरक्षभित्रको जैविक विविधताको विनाश गर्न यी झारको महत्वपूर्ण भूमिका छ ।
कोसी टप्पुको जङ्गली भैँसी (अर्ना), पर्सा र चितवनमा गैँडा, बाघ र हात्तीका लागि र सिमसारमा बस्न र चर्न रुचाउने वन्यजन्तुको बासस्थान र आहार विनाश गर्न माइकेनियालगायत झारको फैलावट चुनौतीका रूपमा खडा भइरहेको छ ।

गैँडा विशेषज्ञ डा. शान्तराज ज्ञवालीले माइकेनिया, वनमारालगायत झारका कारण चितवन राष्ट्रिय निकुञ्जमा विश्वमा दुर्लभ मानिने एक सिङ्गेलगायतका अन्य महत्वपूर्ण वन्यजन्तुको वासस्थान र आहार विनाश भइरहेको बताए। डा. ज्ञवालीले शाकाहारी प्रजातिका वन्यजन्तुले आहारको रूपमा प्रयोग गर्ने विभिन्न आहारलाई यी झारले विस्थापित गरिरहेका छन् । यसले नेपालका कतिपय रैथाने वनस्पतिसमेत लोप हुने अवस्थामा पुगेका गोरखापत्रमा खबर छ ।

झार रूखमा झाँगिदै जाने र घाँसे मैदान, सिमसार क्षेत्र, नदी किनार ढाक्ने भएकाले साना बोटहरू मर्दै जाने र रूखमा झार झेलिँदा रूखहरूसमेत सुक्ने गरेका छन् । शोधकर्ता रामका अनुसार कोसी टप्पु क्षेत्रमा करिब सात सय हेक्टर बढी सिमसार तथा घाँसे मैदान, पर्सा र चितवनका अधिकांश घाँसे मैदानमा माइकेनिया फैलिँदा वन्यजन्तु, पन्छीको आहार तथा वासस्थानमा प्रभावित भइरहेको छ भने सिमसारजन्य वनस्पति नाश हुँदै गइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com