भृकुटी कागज कारखाना सरकारले सञ्चालन गर्छ : उद्योग मन्त्री यादव


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

उद्योग मन्त्री मातृका यादवले वर्षौदेखि बन्द रहेको भृकुटी पल्प एण्ड पेपर मिल्सलाई सरकारले सञ्चालन गर्ने बताउनु भएको छ ।

लामो समयदेखि बन्द रहेको मिललाई सम्बन्धित पक्षले सञ्चालन गर्न नसके राज्यले जिम्मा लिएर संचालनका लागि अगाडि बढ्ने मन्त्री मातृका यादवले बताउनुभयो ।

‘सकेसम्म सम्बन्धित पक्षहरुलाई नै सञ्चालनका लागि भन्छौँ, नसके राज्यले जिम्मा लिएर अगाडि बढ्छ’, मन्त्री यादवले भन्नुभयो ।

उद्योग परिसरभित्र शनिबार पे्रस चौतारी नेपाल नवलपरासी र प्रेस सेन्टर नेपाल नवलपरासीले सयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले यस्तो कुरा व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री यादवले कारखाना बन्द गरेर जग्गा प्लटिङ गर्न नदिने बताउँदै उद्योग सञ्चालनमा सरकारले अध्ययन टोली पठाएर उद्योगको बारेमा यथार्थ जानकारी स्थानीयलाई दिने बताउनुभयो । उहाँले भएका समस्या समाधानका लागि पनि सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

मन्त्री यादवले पेपर मिल्सको समस्या पुरानो भएको र यस्ता समस्या देशमा रहेका अन्य उद्योगमा पनि भएको भन्दै क्रमशः समाधान गर्न सरकार लागिपर्ने बताउनुभयो ।

कार्यक्रमका क्रममा उहाँले भृकुटी उद्योग परिसरको अवलोकन समेत गर्नु भएको थियो । अवलोकनका क्रममा मजदुरहरुको तर्फबाट हरिप्रसाद ढकालले समस्याको बारेमा विवरण पेश गर्दै ज्ञापनपत्र बुझाउनुभएको थियो ।

यसैगरि, गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले कारखाना धेरै समयदेखि बन्द रहेको र मजदुरहरुको समस्या पनि समाधान गर्न नसकिएको भन्दै कारखानालाई राष्ट्रियकरण गरेर सरकारले नै सञ्चालन गर्न माग गर्नुभयो ।

मजदुरहरुले उद्योगमा काम गरे बापतको तलब समेत पाउन नसकेको भन्दै उनीहरुलाई तलब दिने वातावरणका लागि पहल गर्न पनि मेयर पौडेलले उद्योग मन्त्री यादवलाई आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलन प्रेस चौतारी नवलपुर शाखा अध्यक्ष हिमालदेव पंगेनीको अध्यक्षतामा भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com