म्यानमार: लडाइँ चर्किएपछि हजारौँले छाडे कचिन राज्य


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

म्यानमारको सुदूर उत्तरी राज्यमा म्यानमारको सेना तथा कचिन समुदायका विद्रोहीहरूबीच ताजा लडाइँ भएपछि हजारौँ मानिस सो राज्य छाडेर भागेका छन्।

उक्त स्थान चीनसँगको सीमासँग जोडिएको छ।

एप्रिल महिनाको सुरुवातदेखि झण्डै ४ हजार मानिस उनीहरूको घरबाट धपाइएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

‘कचिन इन्डिपेन्डेन्स अर्गानाइजेसन’ (केआइओ) तथा सरकारी फौजबीच लामोसमयदेखि चल्दै आएको द्वन्द्व चर्किएपछि त्यहाँ तनावपूर्ण स्थिति उत्पन्न भएको हो ।

म्यानमारको सेनाले विद्रोहीहरूमाथि हवाई हमला तथा तोप प्रहार गरिरहेको बताइएको छ।

हजारौँ जना विस्थापित भइरहेका बेला धेरैजना चीनको सीमानजिक रहेका द्वन्द्वग्रस्त क्षेत्रहरूमा फसेको हुन सक्ने डरहरु पनि व्यक्त भएका छन्।

मानवीय मामिला समन्वयसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालयका प्रमुख मार्क कट्सले गर्भवती महिला, वृद्धवृद्धा, बालबालिका तथा अपांगता भएका मानिससहित अन्य गैरसैनिकहरुको सुरक्षाबारे सबैभन्दा ठूलो चिन्ता रहेको एएफपी समाचार संस्थालाई बताएका छन्।

ती गैरसैनिकहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्ने उनले बताए।

बर्मा पनि भनेर चिनिने म्यानमारको पश्चिमी क्षेत्रमा जारी रोहिंज्या संकटसँगै देशको उत्तरपट्टि झडपहरू भएका छन् जसमा अन्य जातिगत अल्पसंख्यक समुदाय संलग्न छन्।

कचिन समुदायका प्रायःजसो मानिस इसाई धर्म मान्छन्।

बौद्धमार्गी बहुल म्यानमारमा सन् १९६१ देखि कचिनहरू बृहत् स्वायतत्ताका लागि लडिरहेका छन्।

बीबीसीका दक्षिण एसिया सम्पादक जनाथन हेड भन्छन्- म्यान्मारको सरकारले विगत छ वर्षदेखि अन्य धेरै जातिगत विद्रोही समूहका फौजसँग शान्ति सम्झौता गर्दै आएको छ।

तर तुलनात्मक रूपमा धेरै अस्त्र रहेको ठानिने केआइओविरुद्धको लडाइँ भने जारी नै छ र सो समूह सबैभन्दा शक्तिशाली विद्रोही समूहहरूमध्येको एक रहिआएको हो।

सन् २०११ मा केआइओ तथा सेनाबीच भएको युद्धविराम भंग भएपछि छिटपुट लडाइँ भइरहेको छ।

विश्वव्यापी ध्यान रोहिंज्या संकट केन्द्रित भइरहेका बेला म्यानमारको सेनाले विद्रोहीहरूविरुद्धको उसको सैन्य अभियान चर्काएको अधिकारकर्मी समूहहरू बताउँछन्।

सैन्य कारबाहीबाट बच्न झण्डै ७ लाख रोहिंज्याहरू भागेर छिमेकी देश बांग्लादेश पुगेका छन्।

मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायले गत महिना सार्वजनिक गरेको एक प्रतिवेदनमा मानवअधिकार उल्लंघन र दुर्व्यवहारहरूका साथै गैरन्यायिक हत्या, यातना तथा यौन हिंसामा तीव्र वृद्धि भएको जनाइएको छ।

म्यानमारमा भएका मानव अधिकार उल्लंघनका घटनाहरू तथा सहायता पहुँचमाथि लगाइएको प्रतिबन्ध अन्त्य गर्न विफल भएको भन्दै म्यानमारकी नेत्री आङ सान सू ची आलोचित बन्दै आएकी छिन्।

म्यानमारका अधिकारीहरूलाई कचिन राज्यमा भएका मानवअधिकार उल्लंघन भएका विवरणहरू अस्वीकार गर्न बन्द गर्न पनि संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ।

यांगुनस्थित संयुक्त राज्य अमेरिकाको दूतावासले शुक्रवार एउटा विज्ञप्ति जारी गर्दै सो क्षेत्रमा चर्किएको लडाइँका कारण आफू “गम्भीर रूपमा चिन्तित” भएको जनाएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com