मोदीको भ्रमणलाई पार्टी एकतासँग नजोडौं : नारायणकाजी


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालमा अब विदेशी हस्तक्षेप बन्द हुने बताउनुभएको छ ।

गृह जिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले एमालेसँगको पार्टी एकता हुने विषयमा अब कुनै शंका नरहेको बताउनुभयो । एकतामा ढिलाई भैरहनुको एउटा कारण विदेशी चलखेल पनि हो ? भन्ने प्रश्नमा श्रेष्ठले एकतामा कसैले कुनै चलखेल गर्न नसक्ने दावी गर्नुभयो ।

‘हामीले चलखेल भैसकेको भनेका छैनौं, चलखेल हुन सक्नेतर्फ सचेत हुनुपर्छ भनेका हौं’, उहाँले भन्नुभयो, ‘कसैले चलखेल गरेको भए त यसले ग¥यो है भनिहाल्थ्यौं नि ।’ नेपालको आन्तरिक मामिलामा कुनै पनि देशको कुनै पनि प्रकारको चलखेल स्विकार नगर्ने उहाँको दावी छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणले पार्टी एकतामा केही फरक पार्न सक्छ भन्ने प्रश्नमा श्रेष्ठले भन्नुभयो, ‘एकताका कुरालाई मोदी वा अरु कसैसँग जोड्नु जरुरी छैन, म फेरि जोड दिएर भन्न चाहन्छु, नेपालको आन्तरिक मामिलामा अरु कसैको हस्तक्षेप स्विकार गर्ने वा हस्तक्षेप आमन्त्रण गर्ने दिन गए ।’

फरक पृष्ठभूमिबाट आएका दुई ठूला पार्टीको एकिकरण सहज नभए पनि त्यसको आधार भने तय भैसकेको नेता श्रेष्ठको दावी छ । पार्टी एकता संयोजन समितिले सांगठनिक संचरना र राजनीतिक प्रतिवेदन तयार गरिसकेको श्रेष्ठले जानकारी गराउनुभयो । उहाँले एकताको अन्तिम टुंगो दुवै पार्टीका अध्यक्षले लगाउने बताउनुभयो ।

‘२० गते उहाँहरुले थप छलफल गर्नुहुन्छ’, श्रेष्ठले भन्नुभयो, ‘त्यसको एक दुई दिनमा पार्टी एकता संयोजन समितिको बैठक बस्छ र पार्टी एकताको मिति घोषणा गरिन्छ ।’ एकतापछिको पार्टीमा कुन नेताको के भूमिका हुने भन्ने विषयमा पनि छलफल हुने गरेको उहाँले स्विकार गर्नुभयो । तर कुन पदमा को बस्ने भन्ने विषयले नै एकता प्रक्रियामा अवरोध नगरेको उहाँको दावी छ ।

‘पार्टी एकता सम्मानजनक हुन्छ, समानताको आधारमा हुन्छ’, श्रेष्ठले भन्नुभयो, ‘बाहिर चर्चामा आएजस्तो ठूलै महाभारत भएजस्तो कुनै समस्या छैन ।’ कतिपय विषयमा सामान्य बहस हुनु स्वाभाविक भएको नेता श्रेष्ठले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com